International 

विश्वव्यापी रुपमै वैदेशिक लगानी आप्रवाहमा गिरावट, नेपालको खुद आप्रवाह ६ अर्ब मात्रै

१८ भदाै, काठमाडाैँ । वैदेशिक लगानी आप्रवाह विश्वव्यापी रुपमै घटेको देखिएको छ । युनाइटेड नेसन्स कन्फेरेन्स अन ट्रेड र डेभलपमेन्टले सार्वजनिक गरेको वर्ल्ड इन्भेष्टमेन्ट रिर्पोट २०२४ का अनुसार वैदेशिक लगानी आप्रवाह विश्वव्यापी रुपमै घटेको पाइएको हो ।

विश्वव्यापी रुपमै घटेको वैदेशिक लगानी आप्रवाहको असर नेपालमा समेत देखिएको छ । आर्थिक वर्ष २०७९\८० मा स्वीकृत भएको ३७ अर्ब ८० करोड ५८ लाख प्रत्यक्ष वैदेशिक लगानीबाट ७ अर्ब ८० करोड रुपैयाँ कुल वैदेशिक लगानी नेपालले प्राप्त गरेको छ । साथै सोही वर्षमा १ अर्ब ८० करोड रुपैयाँ वैदेशिक लगानीकर्ताले फिर्ता लिएर गएका छन् ।

यसरी स्वीकृत लगानीको ५९.६ प्रतिशत रकम मात्रै वैदेशिक लगानीको रुपमा भित्र्याइरहेको नेपालबाट बाह्य देशमा पुँजी फिर्ता हुँदा नेपालले प्राप्त गर्ने खुद वैदेशिक लगानीमा भारी गिरावट आएको हो ।

आव २०७९\८० मा ३७ अर्ब ८० करोड ५८ लाख प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएको थियो । तथापि ५ अर्ब ९६ करोड १३ लाख रुपैयाँमात्रै वास्तविक खुद वैदेशिक लगानी आप्रवाह नेपालले प्राप्त गरेको छ । आर्थिक वर्ष २०५२\५३ देखि नेपालले प्रत्यक्ष वैदेशिक लगानीका लागि बाटो खुल्ला गरेको थियो । सो वर्षमा २ अर्ब २१ करोड ९९ लाख रुपैयाँ स्वीकृत वैदेशिक लगानी भएता पनि नेपालले मात्रै ३८ करोड ८० लाख रुपैयाँ खुद लगानी प्राप्त गरेको थियो ।

आव २०५८\५९ मा १ अर्ब २० करोड ९० लाख रुपैयाँ वैदेशिक लगानी स्वीकृत भएकोमा खुद लगानी शून्य रहनुका साथै २८ करोड २३ लाख रुपैयाँ पुँजी फिर्ती भएको थियो । यस्तै आव २०६८\६९ मा भने ७ अर्ब १३ करोड ८३ लाख रुपैयाँ स्वीकृत भएकोमा ९ अर्ब १९ करोड ५४ लाख खुद लगानी नेपालले प्राप्त गरेको थियो ।

आव २०७९\८० अघिका पाँच आवमा पनि स्वीकृत हुने वैदेशिक लगानी र नेपालले प्राप्त गर्ने खुद लगानीबीच ठूलो अन्तर देखिँदै आएको छ । आव २०७५\७६ मा २५ अर्ब ४८ करोड ४४ लाख स्वीकृत भएकोमा नेपालले १३ अर्ब ६ करोड ५२ लाख रुपैयाँ खुद लगानी प्राप्त गरेको थियो । यस्तै आव २०७६\७७ मा ३७ अर्ब ८० करोड ५८ लाख लगानी स्वीकृत भएकोमा १९ अर्ब ४७ करोड ८७ लाख खुद लगानी नेपालले प्राप्त गरेको छ । यता आव २०७७\७८ मा ३२ अर्ब १७ करोड २८ लाख स्वीकृत भएकोमा १९ अर्ब ५१ करोड २७ लाख खुद लगानी नेपालले प्राप्त गरेको छ । यस्तै आव २०७८\७९ मा ५४ अर्ब १५ करोड ८९ लाख स्वीकृत भएकोमा नेपालले मात्रै १८ अर्ब ५६ करोड ३ लाख मात्रै खुद लगानी प्राप्त गरेको थियो । आव २०७९\८० मा पनि यो ट्रेन्ड कायम नै रहेको छ ।

आव २०७९\८० मा प्रत्यक्ष वैदेशिक लगानीको स्वीकृति लिएका ६८९ इन्टरप्राइज मध्ये २३८ इन्टरप्राइजलाई स्याम्पल मानी नेपाल राष्ट्र बैंकले गरेको अध्ययन अनुसार नेपालमा विद्युत, ग्यास, स्टीम र एयर कन्डिसनीङ्गको क्षेत्रमा सबैभन्दा धेरै लगानी रहेको छ । यस्तै लगानीकर्ताको दोस्रो रोजाइमा उत्पादन क्षेत्र रहेको छ भने वित्तीय तथा बीमा क्षेत्र तेस्रो र आइटी तथा संचार क्षेत्र चौथो रोजाइको क्षेत्रमा परेका छन् ।

परियोजना अध्ययन समय लामो हुनुका साथै लगानी स्वीकृत भएको समयपछि परियोजना कार्यान्वयन हुने समय लामो भएकाले समेत नेपालले प्राप्त गर्ने कुल वैदेशिक लगानी थोरै रहेको लगानी बोर्डका प्रवक्ता प्रध्युमन राज उपाध्यायले बताए । “हेजिङ्गका लागि उपर्युक्त कदम चाल्न सरकार असक्षम रहनु, भायाबिलिटी ग्याप फन्डिङका विषयमा काम नहुनु र लगानीकर्तालाई लगानी सुरक्षाको प्रत्याभूति दिलाउन नसक्दा नेपालले वास्तविक लगानी घटेको हो,” उनले भने, “जग्गा विवाद र कस्टम क्लियरेन्समा देखिने समस्याले पनि वैदेशिक लगानी आप्रवाह घटेको हो ।”

नेपालको १५ औँ योजनाले आर्थिक वर्ष २०८०\८१ सम्ममा प्रत्यक्ष वैदेशिक लगानी कुल ग्राह्स्थ उत्पादनको अनुपातमा ३ प्रतिशत पु¥याउने लक्ष्य लिएको थियो । घट्दै गएको कुल वैदेशिक लगानीले भने अर्कै चित्र वर्णन गरिरहेको छ ।

नेपालमा मात्रै होइन विश्वव्यापी रुपमै घट्दै छ वैदेशिक लगानी

युनाइटेड नेसन्स कन्फेरेन्स अन ट्रेड र डेभलपमेन्टले सार्वजनिक गरेको वल्र्ड इन्भेष्टमेन्ट रिर्पोट २०२४ का अनुसार वैदेशिक लगानी आप्रवाह विश्वव्यापी रुपमै घटेको पाइएको छ । सन् २०२२ मा विश्वव्यापी रुपमा १३ खर्ब ५५ अर्ब ७० अमेरिकी डलर वैदेशिक लगानी गरिएको थियो भने सो रकम सन् २०२३ मा १.८ प्रतिशत विन्दुले घटेर १३ खर्ब ३१ अर्ब ८० करोड डलरमा घटेको हो ।

विकासशील देशमा वैदेशिक लगानी बढ्दै, विकासोन्मुख राष्ट्रमा घट्दै

विश्वव्यापी रुपमा वैदेशिक लगानी घट्दा त्यसको प्रभाव विकासोन्मुख राष्ट्रहरुमा धेरै देखिएको छ । सन् २०२३ मा विकासशील देशहरुमा वैदेशिक लगानी ९ प्रतिशत विन्दुले बढेर ४ खर्ब ६४ अर्ब ४० करोड अमेरिकी डलर पुगेको छ । यी देशहरुले सन् २०२२ मा ४ खर्ब २६ अर्ब २० करोड डलर प्राप्त गरेका थिए ।

यता विकासोन्मुख राष्ट्रमा वैदेशिक लगानी ६.७ प्रतिशत विन्दुले घटेर ८ खर्ब ६७ अर्ब ४० करोड मै सिमित भएको छ । सन् २०२२ मा विकासोन्मुख राष्ट्रहरुले ९ खर्ब २९ अर्ब ६० लाख प्राप्त गरेका थिए ।

यस्तै एशिया क्षेत्रमा वैदेशिक लगानी ८.४ प्रतिशतले घटेको छ । तथापि चीनलाई उछिन्दै सिंगापुर सबैभन्दा धेरै वैदेशिक लगानी प्राप्त गर्ने एशियाली राष्ट्र बनेको छ । सन् २०२३ मा सिंगापुरले १ खर्ब ५९ अर्ब अमेरिकी डलर वैदेशिक लगानी भित्र्याएको छ ।

यता दक्षिण एशियाली क्षेत्रमा ३७.५ प्रतिशतले वैदेशिक लगानी खुम्चिएको हो । यस्तै भारतमा सबैभन्दा धेरै वैदेशिक लगानीको स्टक रहेको छ ।

Related posts

Leave a Comment