Agriculture Business 

नेपाली तरकारी कतार निर्यात

२८ भदौ, काठमाडौँ । नेपाली किसानले उत्पादन गरेको तरकारी कतार निर्यात भएको छ । काठमाडौँ उपत्यकाका किसानले उत्पादन गरेको सो तरकारी बिहीबार कतार निर्यात भएको हो । चीनको सहयोगमा सञ्चालित ग्रामीण विकासका लागि (सिएफआरडी) कार्यक्रम अन्तर्गत किसानले सो तरकारी उत्पादन गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार एक कार्यक्रमको आयोजना गरी दक्षिणकाली नगरपालिकाका किसानले उत्पादन गरेको तरकारी कतार पठाएको हो । सिएफआरडीबाट सञ्चालित कार्यक्रमबाट उत्पादित तरकारी नेपालबाट मध्यपूर्व देशमा निर्यात भएको यो पहिलो हो र यसलाई निरन्तरता दिने जनाइएको छ । सिएफआरडी सहयोगमा २० जना किसानले दैनिक एक हजार पाँच सय केजी तरकारी उत्पादन गर्छन् । ती किसानले उत्पादन गरेको तरकारी एक महिनासम्म लगातार निर्यात हुने बताइएको छ ।

कृषि विभागका महानिर्देशक डा. नरहरिप्रसाद घिमिरेले नेपाली तरकारी कतारमा निर्यात गर्दा किसान उत्साहित भएको बताउनुभयो । नेपाल तरकारीका लागि भारतमा निर्भर छ तर अहिले चिनियाँ गैरसरकारी संस्थाको प्राविधिक सहयोगमा नेपाली किसानले तरकारी उत्पादन गरेर निर्यात गर्ने अवस्थामा पुगेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कृषि क्षेत्रका लागि यो एक उल्लेखनीय उपलब्धि हो ।” यो सहयोगले किसानको क्षमतालाई बलियो बनाउने मात्र नभई नयाँ आर्थिक अवसर पनि खोल्ने उहाँले बताउनुभयो । नेपालका लागि चिनियाँ कार्यवाहक राजदूत वाङ सिनले सिएफआरडी कार्यक्रमले गर्दा नेपालको कृषि विकासमा महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । यो कार्यक्रमले गर्दा चीनको गरिबी निवारणका अनुभवलाई नेपाली समुदायमा प्रवर्धन गर्न सकिने बताउँदै उहाँले यो पहल नेपाली तरकारी र कृषि उत्पादनका लागि मध्यपूर्वको बजारमा प्रवेश गर्ने महत्वपूर्ण अवसर रहेको बताउनुभयो ।

नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अली अल अन्सारीले सिएफआरडीले सहयोग गरेको ताजा नेपाली तरकारी कतारका लागि निकै महत्वपूर्ण रहेको बताउनुभयो । कतारमा कार्यरत करिब चार लाख नेपाली कामदारले तातो सुक्खा मौसममा तरकारी खेती गर्न कठिनाइ भोग्नु परेको बताउँदै उहाँले ताजा तरकारीको आगमन कतारका जनताको हितका लागि महत्वपूर्ण सहयोग रहेको बताउनुभयो । भविष्यमा पनि नेपाली कृषि उत्पादनको आयात बढ्ने आशा व्यक्त गर्दै यो निर्यातले कतारको बजारको गुणस्तरमा सुधार गर्दै द्विपक्षीय व्यापार सम्बन्धलाई थप मजबुत बनाउने उहाँले बताउनुभयो ।

दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले सिएफआरडीसँगको सहकार्यले किसानको कृषि अभ्यासमा व्यापक वृद्धि भएको बताउँदै उत्पादनका लागि नयाँ बजार खुलेको बताउनुभयो । यसले स्थानीय अर्थतन्त्रलाई मात्र नभई अन्तर्राष्ट्रिय व्यापार सम्बन्धलाई पनि मजबुत बनाउने कार्य गरेको उहाँले बताउनुभयो । कतारमा तरकारीको निर्यातले नेपालमा चिनियाँ ग्रामीण विकासका अनुभव परिचय गराउने पहिलो प्रयास रहेको छ । यसले कृषि अभ्यासलाई सुधार गर्न मात्र नभई किसानलाई बजारसँग जोड्न र आर्थिक वृद्धि हासिल गर्न मद्दत पु¥याउने दाबी गरिएको छ । गत महिना सिएफआरडीले नेपाल कृषि तथा वनविज्ञान विश्वविद्यालयसँगको सहकार्यमा चितवनमा कृषि विज्ञान तथा प्रविधि पार्क उद्घाटन गरेको थियो । यस परियोजनाले चिनियाँ र नेपाली कृषिविज्ञद्वारा सञ्चालित हाइब्रिड धान, तरकारी, माछापालन र भैँसीपालनमा अनुसन्धान र परीक्षणमार्फत नेपाली किसानलाई सहयोग गर्ने लक्ष्य राखेको छ ।

Related posts

Leave a Comment