Business Gold & Silver 

ईसीबीले व्याजदर घटाउँदा सुनको मूल्य एकैदिन प्रतितोला ३ हजार रुपैयाँले बढ्यो, नयाँ रेकर्ड कायम

२८ भदाै, काठमाडाैं । सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार प्रतितोला १०० रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला तीन हजार रुपैयाँले बढेको हो । आज प्रतितोला ३ हजार रुपैयाँले बढेसँगै सुनको भाउले नयाँ रेकर्ड कायम गरेको हो ।

शुक्रबार छापावाला सुनको भाउ प्रतितोला एक लाख ५६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि बुधबार छापावाला सुनको भाउ प्रतितोला एक लाख ५३ हजार ४०० रुपैयाँ पुगेको थियो । उक्त रेकर्ड मूल्य आज तोडिएको हो ।

यूरोपेली केन्द्रीय बैङ्क (ईसीबी)ले ०.२५ प्रतिशतले घटाएर ३.५ दशमलवमा कायम गरेकोले मूल्य रेकर्ड बिन्दुमा पुगेको सुन चाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले बताए ।

फ्रयाङ्कफर्टस्थित बैङ्कले गत जुनमा पहिलो पटक निक्षेपको ब्याजदर चार प्रतिशतबाट घटाएर ३.७५ प्रतिशतमा झारेको थियो ।

यता, अमेरिकी केन्द्रिय बैंक फेडरल रिजर्भले पनि पछिल्लाे समयमा घट्दै गएकाे मुद्रास्फीति दर र आर्थिक वृद्धिलाई ध्यानमा राख्दै अर्को हप्ता हुने बैठकमा ब्याजदर कटौती सुरु गर्ने तयारी गरेकोले पनि सुनमा चाप परेको उनले बताए ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

“सुनको भाउ नेपालबाट तोकिदैँन,”उनले भने,“यसको अन्तराष्ट्रिय गतिविधिबाट नै मूल्य निर्धारण हुने भएकोले उक्त बैंकहरुको निर्णयले लगानीकर्ताहरु सुनमा आकर्षित भएका हुन् ।”

विश्वमा सुनको माग बढिरहेकोले भाउमा वृद्धि भएको उनको भनाइ छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार चाँदी १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार १ हजार ८६० मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस सुन २ हजार ५६८ दशमलव ८ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २९ दशमलव ९७ डलरमा कारोबार भइरहेको छ ।

Related posts

Leave a Comment