Banking 

सुन–चाँदी धितो राखेर लिने कर्जामा ५.६३ प्रतिशतले वृद्धि, ५३ अर्ब कर्जा प्रवाह

३० भदाै, काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट सुन–चाँदी धितो राखेर प्रवाह हुने कर्जा बढेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार एक वर्षमा सुन–चाँदी धितो राखेर प्रवाह हुने कर्जा ५.६३ प्रतिशतले बढेको छ ।

२०८१ असार मसान्तसम्म वाणिज्य बैंकले सुन–चाँदी धितो राखेर ५३ अर्ब ४२ करोड २५ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यसअवधिमा ५ वटा वाणिज्य बैंकले भने सुन–चाँदी धितो राखेर कर्जा प्रवाह गरेका छैनन् । १५ बैंकले भने यस्तो कर्जा प्रवाह गरेका छन् ।

२०८० असार मसान्तसम्म वाणिज्य बैंकहरुले ५० अर्ब ५७ करोड ५२ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त वर्ष १६ बैंकले सुन–चाँदी धितो राखेर कर्जा प्रवाह गरेका थिए ।

गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले सुन–चाँदी धितो राखेर प्रवाह गरेको ५३ अर्ब ४२ करोड २५ लाख रुपैयाँ कर्जामध्ये सबैभन्दा धेरै सरकारी स्वामित्वका नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् ।

नेपाल बैंकले गत असार मसान्तसम्म २२ अर्ब ३३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो अघिल्लो वर्षकोभन्दा १८.५३ प्रतिशतले बढी हो ।
साथै, राष्ट्रिय वाणिज्य बैंकले यो शीर्षकमा २० अर्ब ३१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यता, विदेशी साझेदारी रहेको हिमालयन, स्टान्डर्ड चाटर्ड, नेपाल एसबीआई र एभरेष्ट बैंकले भने यो शीर्षकमा कुनै कर्जा प्रवाह नगरेको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै, ग्लोबल आइएमई बैंकले पनि यो शीर्षकमा कुनै कर्जा प्रवाह गरेको छैन । एक वर्षको अवधिमा ८ वाणिज्य बैंकको यस शीर्षकमा कर्जा प्रवाह घटेको छ भने ८ वटै बैंकको बढेको छ ।

Related posts

Leave a Comment