२४३ अर्ब लगानी गरेको नागरिक लगानी कोषको कुन क्षेत्रमा कति ?
०९ असाेज, काठमाडौं । कोषले पनि सुरक्षित लगानीमार्फत उच्च प्रतिफल दिने प्रतिबद्धता व्यक्त गर्दछ। सहभागीले मिहेनत गरेर कमाएको पैसालाई कोषले सुरक्षित लगानी गर्छ। वित्तीय क्षेत्रमा लामो अनुभव बटुलिसकेका पर्वतकुमार कार्की नेपाल राष्ट्र बैंकमा तीसवर्षे सेवा पूरा गरी कार्यकारी निर्देशकबाट सेवा निवृत्त भएका हुन्।
राष्ट्र बैंकबाट सेवा निवृत्त भएपश्चात् कार्कीले साबिकको ग्रामीण विकास बैंकको प्रमुख कार्यकारी अधिकृतका रुपमा चार वर्ष र नागरिक लगानी कोषमा आउनुअघि किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्य गरेका थिए। प्रस्तुत छ, कोषका कार्यकारी निर्देशक कार्कीसँग गरिएको कुराकानीको सम्पादित अंश।
कोषले २९औँ वार्षिक साधारणसभा केही समयअघि सम्पन्न गरेको छ। साधारणसभाले के सन्देश दिएको छ?
कोषले हालका वर्षमा साधारणसभा नियमित रुपमा गर्दै आइरहेको छ। आर्थिक वर्ष २०७९/८० को वार्षिक साधारणसभा असार मसान्तभित्रै सम्पन्न गरेको छ। यो कोषको २९औँ साधारणसभा हो। साधारणसभाले १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७३६८ प्रतिशत नगद लाभांश पारित गरेको छ। कोषको ३३ वर्षको इतिहास सन्तोषजनक रहेको छ। कोषले नियमित रुपमा आफ्ना शेयरधनीहरूलाई उचित प्रतिफल दिँदै आएको छ। एक करोड ४४ लाखको चुक्ता पुँजीबाट स्थापना भएको कोषको पुँजीमा धेरै ठूलो वृद्धि भएको छ। कोषले आव २०७९/८० वितरण गरेको बोनश शेयरपश्चात कोषको चुक्ता पुँजी छ अर्ब पाँच करोड रुपैयाँ पुगेको छ।
अहिले कोषले के कस्ता योजनाहरू सञ्चालन गरिरहेको छ?
कोषले अवकाश कोष व्यवस्थापन तथा सामाजिक सुरक्षाका सम्बन्धमा विगतदेखि नै काम गर्दै आइरहेको छ। कोषले सञ्चालन गरेका कार्यक्रमरुमा कर्मचारी बचत वृद्धि अवकाश कोष, नागरिक पेन्सन योजना, उपदान कोष, लगानीकर्ता हिसाब योजना, बीमा कोषलगायतका योजना रहेका छन्। कोषले साना तथा मझौलास्तरका बचतकर्ताहरूको बचत परिचालन गरी अधिकतम प्रतिफलको अवसर प्रदान गर्ने उद्देश्यका साथ कर्मचारी बचत वृद्धि लगायतका योजना सञ्चालन गरेको छभने सार्वजनिक संस्थान र अन्य सङ्गठित संघसंस्थालाई आफ्नो दीर्घकालीन दायित्व व्यवस्थापनका लागि क्रमिक रुपमा कोषमा रकम जम्मा गर्न प्रोत्साहित गर्ने, सरकारी क्षेत्रका साथै अन्य क्षेत्रमा समेत सामाजिक सुरक्षा प्रदान गर्ने लगायतका कार्य गर्दै आइरहेको छ। यसका अतिरिक्त आम नेपाली नागरिकलाई समेट्ने गरी नागरिक पेन्सन योजनासमेत सञ्चालनमा ल्याएको छ। साथै, पुँजी बजारको विकासमा सघाउ पुग्नेगरी पुँजी बजारसम्बन्धी विभिन्न गतिविधिहरूमा समेत कोष संलग्न रहेको छ।
सहभागीलाई दिने सेवालाई कसरी चुस्त राख्नु भएको छ ?
कोषले आफ्नो सेवालाई प्रभावकारी बनाउन यान्त्रिकीकरणमा विशेष जोड दिएको छ। कोषको हिसाबकिताबलाई चुस्तदुरुस्त राख्न अटोमेसनलाई कोषले विशेष प्राथमिकतामा राखेको छ। कोषको काम कारबाहीलाई बढीभन्दा बढी यान्त्रिकीकरण गर्न कोषले डिजिटलाइजेसनलाई विशेष महत्वका साथ अघि बढाएको छ। यसबाट क्रमिक रूपमा कागजरहित सेवा बढाउँदै लान मद्दत मिल्नेछ। हालै सेवाग्राहीलाई अनलाइन पेमेन्ट तथा सूचना लिने सुविधाका लागि कोषले सिआइटी स्मार्ट मोबाइल एप विकास गरी कार्यान्वयनमा ल्याएको छ। यो एप डाउनलोड गरेर सेवाग्राहीले विभिन्न किसिमका सेवा र सुविधा लिन सक्नेछन्। सेवाग्राहीबाट संकलन हुने रकमलाई सरकारको केन्द्रीय लेखा प्रणाली, स्थानीय निकायहरूलाई समेटेर बनाएको प्रणालीको माध्यमबाट रकम जम्मा गर्ने पूर्वाधार विकास गरिएको छ। सहभागीलाई ऋणको किस्ता भुक्तानीलगायतका सेवा अनलाइनबाट उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा ल्याउन प्राथमिकताका साथ कार्य भइरहेको छ। सहभागीहरूलाई डिजिटल परिचयपत्र दिनेतर्फ समेत कोषले कार्य गरिरहेको छ।
कोषले कुन क्षेत्रमा कति लगानी गरिरहेको छ ?
गत आवको असार मसान्तसम्म कोषमा रु २४९ अर्ब कोष मौज्दात जम्मा भएको छ। सो समयमा कोषको लगानी रु २४३ अर्ब रहेको छ। त्यसमध्ये करिब ५३ प्रतिशत रकम वाणिज्य बैंकहरूको मुद्दती निक्षेपमा लगानीमा रहेको छ। करिब २२ प्रतिशत सहभागी कर्जाका रुपमा लगानी छभने संस्थागततर्फ कोषको कर्जाको अंश करिब ११ प्रतिशत रहेको छ। सरकारी ऋणपत्र, सङ्गठित संस्थाको शेयर धितोपत्र र बण्डलगायतमा कोषले करिब १३ प्रतिशत लगानी गरेको छ। यसका अतिरिक्त कोषले पुँजी बजारतर्फ दोस्रो बजारमा पनि नियमित रुपमा लगानी गरिरहेको छ। लगानीको तथ्याङ्क हेर्दा कोषको लगानी अझै पनि निक्षेपतर्फ बढी देखिन्छ। यसलाई विविधीकरण गर्न कोष विशेष रुपमा प्रयत्नशील रहेको छ।
कोषले आम नागरिकलाई कसरी समेटिरहेको छ ?
कोषका योजनाहरूमध्ये धेरैजसो योजनहरू राष्ट्रसेवक कर्मचारी, विभिन्न संघसंस्थामा कार्यरत कर्मचारी लक्षित रहेका हुँदा आम नागरिकलाई समेत समेट्ने गरी कोषले विगत केही वर्षदेखि नागरिक पेन्सन योजना सञ्चालनमा ल्याएको छ। यस योजनामा मुलुकभर बस्ने दूरदराज, गाउँठाउँका नागरिकलाई समेत समेट्ने लक्ष्यसहित योजना सञ्चालनमा ल्याइएको हो। यसका अतिरिक्त विदेशमा रहेका, वैदेशिक रोजगारीमा जाने नेपाली दाजुभाइ, दिदीबहिनीलाई पनि उहाँहरूले कमाएको केही पैसा अवकाश कालमा सदुपयोग होस् भनी त्यस्ता वर्गलाई कोषमा समाहित गर्ने लक्ष्यसमेत नागरिक पेन्सन योजनामा रहेको छ।
यस योजनामा न्यूनतम पाँच सय रुपैयाँ मासिक बुझाएर कार्यक्रममा सहभागी हुनसक्ने व्यवस्था रहेको छ। उहाँहरूले सक्रिय जीवनमा कमाएर यस योजनामा जम्मा गरेको रकम बचतकर्ताको उमेर ६० वर्ष पूरा भएपछि १५ वर्ष योगदान गरेको अवस्थामा वा बचत कर्ताको १५ वर्ष बचत नगर्दै ६० वर्ष उमेर पूरा भएमा उहाँहरूको इच्छाअनुसार मासिक पेन्सनका रुपमा उपलब्ध गराउने वा एकमुष्ट रकम भुक्तानी दिने व्यवस्था कोषले मिलाएको छ। यो योजनालाई प्रभावकारी बनाउन चालु आवको सुरुआतदेखि नै स्थानीय निकायसँग समेत समन्वय गरेर आम नागरिकलाई कार्यक्रममा समावेश गर्ने सोचाइ राखेका छौंँ। यसैगरी, वैदेशिक रोजगारमा रहनुभएका र वैदेशिक रोजगारमा जानुहुने नेपाली नागरिकलाई यस कार्यक्रममा आकर्षित गर्न प्रचारप्रसार गर्ने, उहाँहरूसँग अन्तरक्रियात्मक कार्यक्रम गर्ने योजना बनाइएको छ। सबै नेपालीहरूले सहभागिता जनाउन सक्ने कोषले सञ्चालन गरेको अर्को कार्यक्रम नागरिक एकाङ्क योजना पनि हो।
लगानी कोष, सञ्चय कोष र सामाजिक सुरक्षा कोष जस्ता फरकफरक संस्था आवश्यक थियो र?
यी संस्थाहरूको कतिपय कार्य समान प्रकृतिका भए पनि यी संस्थाहरू भिन्न समयमा भिन्न उद्देश्यका साथ स्थापना भएका हुन्। यी संस्थाहरूले हाल सञ्चालन गर्दै आएका केही कार्यहरू मिल्दाजुल्दा प्रकृतिका छन्। पछिल्लो समय कतिपय प्रसङ्गमा यी संस्थाहरूलाई गाभेर एउटै संस्था बनाउँदा के हुन्छ भन्ने धारणा पनि आउने गर्दछ। सञ्चय कोष राष्ट्र सेवक कर्मचारीहरूसँग लक्षित रहेको छ। सामाजिक सुरक्षा कोष भने औपचारिक र अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरूलाई लक्षित गरी योगदानमा आधारित सामाजिक सुरक्षासम्बन्धी कार्यमा रहेको छ। लगानी कोषले भने विशिष्टीकृत ढङ्गले काम गर्ने क्षेत्र पहिचान गर्दै नयाँ कार्यक्रम/योजना सञ्चालन गरेर स्वेच्छिक प्रकारको अवकाश योजनाहरू सञ्चालन गर्ने, राष्ट्रसेवक कर्मचारीहरूका लागि योगदानमा आधारित सावधिक जीवन बीमा कोष सञ्चालन गर्ने र पुँजी बजारको विकासका लागि आवश्यक कार्य गर्ने गर्दछ। यी तीनवटै संस्थाहरू नेपाल सरकारको समेत स्वामित्व भएका संस्था भएकाले आवश्यकताका आधारमा नै स्थापना भएका हुन्।
कोषले लगानी विविधीकरण गर्न सकेन भन्ने कुरामा यहाँ के भन्नुहुन्छ?
कोषमा योगदान गर्नुहुने सहभागीको पैसालाई कोषले लगानी गर्दा सतर्कताका साथ जोखिम रहित ढङ्गले लगानी गर्नु पर्दछ। यसरी गरिने लगानीबाट उचित प्रतिफल समेत प्राप्त हुने गरी लगानी गर्नुपर्दछ। कोषका सहभागीहरू राष्ट्रसेवक कर्मचारी, संघसंस्थामा काम गर्ने कर्मचारीहरू क्रमिक रुपमा अवकाश हुँदै जानुहुन्छ। अवकाश कोष सञ्चालन गर्ने संस्थाले उहाँहरूलाई नियमित रुपमा भुक्तानी गर्ने गरी तरलताको व्यवस्थापन पनि गर्नुपर्दछ। यो भन्नाले मुद्धती निक्षेपमा धेरै रकम राख्नुपर्छ भन्ने पनि होइन। तर, मुद्दती निक्षेप पनि आवश्यक भएको क्षेत्र हो। कोष सामु लगानीलाई थप विविधिकरण गर्नु पर्ने चुनौतीहरू रहेको छ। हाल औसतमा ५२ प्रतिशत जति रकम मुद्दती निक्षेपमा रहेको छ। यसलाई विविधीकरण गर्नेतर्फ कोषले योजना बनाई कार्य अघि बढाएको छ। खासगरी सरकारी पूर्वाधार निर्माणको क्षेत्रमा लगानी बढाउन आवश्यक नीतिगत सुधारका लागि कार्य भइरहेको छ। यसैगरी विशिष्टीकृत कोष र पुँजी बजारमा लगानी बढाउन कोष लागि परेको छ। अर्थात् कोषले लगानी विविधीकरणलाई उच्च प्राथमिकतामा राखेको छ।
कुन क्षेत्रमा लगानी गर्ने सोच्नुभएको छ ?
कोषले लगानी विविधीकरणलाई मूल एजेन्डाका रुपमा अगाडि सारेको छ। यही अनुसार वार्षिक नीति तथा कार्यक्रम तर्जुमा गरेर कोष अगाडि बढेको छ। विविधीकरणको क्षेत्र पहिचान गर्ने क्रममा सरकारको प्राथमिकतामा रहेको पूर्वाधार निर्माणको क्षेत्रमा लगानी बढाइने छ। नेपालको परिवेशमा हेर्दा हाल जलविद्युत्को क्षेत्र नै सबैभन्दा प्रमुख प्राथमिकता भएको र राम्रो भविष्य भएको क्षेत्र रहेकाले यसतर्फ लगानी विस्तार गर्ने सोचाइ छ। अहिले पनि विभिन्न जलविद्युत् आयोजनामा लगानी गर्ने सन्दर्भमा द्विपक्षीय छलफल र वार्ता अगाडि बढिरहेको छ। यसैगरी, कृषि क्षेत्रमा के कसरी लगानी अभिवृद्धि गर्न सकिन्छ भन्नेतर्फ समेत अध्ययन भइरहेको छ। विशिष्टीकृत फन्डमार्फत विभिन्न उत्पादनशील क्षेत्रमा लगानी विस्तारका लागि नीतिगत व्यवस्था गर्न आवश्यक देखिएको र उक्त दिशामा समेत कार्य भइरहेको छ।
‘प्राइभेट इक्विटी फन्ड’तर्फ जाने सम्बन्धमा पनि कोषले छलफल अगाडि बढाएको छ। लगानी विविधीकरणका सन्दर्भमा लगानी कोष ऐनले कोषलाई क्यापिटल मार्केटमा नेतृृत्वदायी भूमिका निर्वाह गर्ने संस्थाका रुपमा समेत राखेको हुँदा कोषको सहायक कम्पनीका रुपमा नागरिक ‘स्टक डिलर’ सञ्चालनमा रहेको छ। उक्त स्टक डिलर पुँजी बजारमा सक्रिय रहेको छ। यो पनि कोषको एउटा लगानीको पाटो जस्तै रहेको छ। यसको अलावा पुँजी बजारमा सक्रिय भूमिका बढाउने, पुँजी बजारतर्फ लगानीलाई उल्लेखनीय बढाउने सोचाइसमेत कोषको रहेको छ।
कोषलाई सेवाग्राहीले कसरी लिने?
सेवाग्राहीले कोषलाई जसरी विश्वास गर्नुभएको छ, कोषले पनि सुरक्षित लगानीमार्फत उच्च प्रतिफल दिने प्रतिबद्धता व्यक्त गर्दछ। सहभागीले मिहेनत गरेर कमाएको पैसालाई कोषले सुरक्षित लगानी गर्छ। सहभागीहरूलाई अन्य किसिमका सेवासुविधा दिने, ब्याजदरको अलावा बोनस/प्रतिफल दिने कार्य पनि कोषले गरिरहेको छ। सहभागीहरूलाई बीमा, औषधोपचार लगायतको सुविधा दिनेतर्फ कोषले काम गर्नेछ।
कोषप्रति विश्वास गर्न र कोषका विभिन्न योजना कार्यक्रमहरूमा सहभागी हुन सबैलाई आग्रह गर्न चाहन्छु। राष्ट्रसेवक कर्मचारीहरू तथा अन्य संघसंस्थाका कर्मचारीहरूका लागि सञ्चालन गरिएका कार्यक्रमहरूका अतिरिक्त आम नेपाली नागरिक विशेषतः वैदेशिक रोजगारीमा जानु भएका दाजुभाइ दिदीबहिनीहरूलाई समेत लक्षित गरेर कोषले नागरिक पेन्सन योजना सञ्चालनमा ल्याएको छ।
अन्त्यमा के भन्न चाहनुहुन्छ?
नागरिक लगानी कोषले सहभागीहरूको अवकाश जीवनलाई सहज बनाउन वित्तीय स्रोतको लागि विभिन्न अवकाश योजनाहरू सञ्चालनमा ल्याएको छ। यसै सिलसिलामा सरकारी, गैरसरकारी संघसंस्थामा कार्यरत धेरैजसो कर्मचारीहरूले कोषको योजनामा सहभागिता जनाइसक्नु भएको छ। कोषले स्वरोजगारमा रहेका, वैदेशिक रोजगारमा रहेका, एवं कृषि पेसामा रहनुभएका आम नागरिकलाई समेत लक्षित गरी नागरिक पेन्सन योजना सञ्चालनमा ल्याएको छ। यस योजनामा सहभागी भई सक्रिय उमेरमा कमाएको केही रकमलाई पेन्सन योजनामा लगानी गरेर अवकाश जीवनलाई सुरक्षित बनाउन सबैमा अनुरोध गर्दछु। यसैगरी, नागरिक लगानी कोषले आफ्ना सेवाग्राहीलाई सरल र सहज तरिकाले सेवा प्रदान गर्ने र सहभागीहरूलाई उचित प्रतिफल दिने हुनाले नागरिक लगानी कोषप्रति विश्वास गर्दै यसका योजनाहरूमा सहभागी हुन सबैमा पुनः आग्रह गर्न चाहन्छु।