प्रधानमन्त्री फर्किंदा आधा घण्टा उडान प्रभावित, विमानस्थल भद्रगोल
१४ असोज, काठमाडौं । अमेरिका भ्रमण सकेर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीको नेपाल अवतरणका बेला आज सोमबार आधा घण्टा नियमित उडान पूर्णरूपमा प्रभावित भएको छ ।
यसले विमानस्थलको उडान व्यवस्थापन अझ भद्रगोल बनेको छ । विमानस्थल स्रोतका अनुसार आज दिउँसो ३ः५५ बाट आघा घण्टाका लागि ‘भीभीआईपी मुभमेन्ट’ भन्दै ‘नोटिस फर एयर मेन’ (नोटाम) जारी भएको थियो ।
नोटाम जारी भएको समयमा आन्तरिक विमानस्थलमा रहेका जहाज र अन्तर्राष्ट्रिय जहाजलाई यहाँबाट उड्न दिइएको थिएन अवतरण गर्न आइरहेका जहाजलाई भने ‘होल्ड’ गराइएको छ ।
प्रधानमन्त्री चढेको जहाज अवतरण गरेपछि भने उडान सामान्य भएको विमानस्थल स्रोतले जनाएको छ । आज बिहानैबाट त्रिभुवन विमानस्थलमा उडान व्यवस्थापनमा चाप भएको थियो । जसले गर्दा निर्धारित उडानहरू नै एक घण्टासम्म ‘डिले’ भइरहेका थिए । त्यसमाथि प्रधानमन्त्रीको सवारीले उडान अझ प्रभावित बनेका हुन् ।