Travels & Tourism 

पर्यटन क्षेत्र बिस्तारै पुरानै लयमा

२२ असोज, काठमाडौँ । प्रतिकूल मौसमका कारण प्रभावित पर्यटन क्षेत्रले बिस्तारै पुरानो लय समात्न थालेको छ । लगातारको वर्षासँगै उच्च हिमाली क्षेत्रमा भएको बाक्लो हिमपातका कारण रोकिएको आरोहण आलो हिउँ पग्लिएसँगै पुनः सुचारु भएको छ भने पदयात्रामा रहेका पर्यटकसमेत आफ्नो गन्तव्यमा पुगेका छन् ।

पर्यटन विभागका निर्देशक राकेश गुरुङले भन्नुभयो, “गोरखाको उत्तरी क्षेत्र र मुस्ताङको टुकेचे हिमाली क्षेत्रमा भएको भारी हिमपातका कारण अवरुद्ध आरोहण पुनः सुरु भएको छ । करिब पाँच फिटसम्म हिउँ जमेका कारण रोकिएको आरोहण हिउँ पग्लिएपछि सुचारु भएको हो ।”

सबैभन्दा बढी आरोहीले अनुमति लिएको मनासलुमा आरोहण सकिने समयमा भएको हिमपातका कारण करिब १५ जना आरोही आधार शिविरमै रोकिएकामा आइतबारदेखि पुनः आरोहणतर्फ लागेको उहाँले जानकारी दिनुभयो । त्यस्तै गरी प्रतिकूल मौसमका कारण अमादब्लम र हिमलुङको आरोहणसमेत सुरु भएको उहाँले बताउनुभयो ।

प्राकृतिक विपत्तिका कारण प्रभावित पदयात्रा क्षेत्रसमेत पुरानै लयमा फर्किएको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा रोकिएका पर्यटक गन्तव्यमा पुगिसकेका छन् । आरोहण र पदयात्रामा गएका पर्यटकमध्ये अप्ठ्यारोमा परेका पर्यटकलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।”

बाढीपहिरोका कारण सडक मार्गबाट पोखरा, चितवन, रामेछापलगायतका गन्तव्यतर्फ लागेका पर्यटक बढी प्रभावित हुन पुगेको उहाँले जानकारी दिनुभयो । 

नेपाल पर्यटन बोर्ड, नेपालस्थित विदशी दूतावास, कन्सुलेट अफिस, ट्राभल तथा ट्रेकिङ एजेन्सीलगायत नेपाली सुरक्षा निकायसँगको समन्वयमा पर्यटकको उद्धार गरिएको हो ।  

Related posts

Leave a Comment