Business 

अब सुन धितो राख्दा ५० लाख भन्दाबढी कर्जा नपाइने

२३ असाेज, काठमाडौँ । नेपाल राष्ट्र बैंकले व्यक्तिगत अधिविकर्ष (ओभरड्राफ्ट) कर्जामा जस्तै सुनचाँदी धितो कर्जामा पनि ५० लाख रुपैयाँको सीमा तोकेको छ ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशिकामा संशोधन गर्दै सुनचाँदी धितो कर्जामा सीमा तोकेको हो । यसअघि ५० लाख भन्दा बढी कर्जा सुनचाँदी धितोमा प्रवाह गरेको भए २०८३ असार मसान्तभित्र एकल ग्राहक कर्जा सीमाभित्र लाउनुपर्ने भएको छ ।

‘सुनचाँदी धितो कर्जाको एकल ग्राहक कर्जा सीमा ५० लाख कायम गरिएको छ । यसअघि प्रवाह भएको कर्जाको हकमा २०८३ असार मसान्तसम्म एकल ग्राहक कर्जा सीमा कायम गरी सक्नु पर्नेछ,’ राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लागि जारी गरेको परिपत्रमा भनिएको छ ।

यसरी कर्जा प्रवाह गर्दा ऋणीले धितोस्वरुप दिएको सुन वा चाँदी एउटै थैलीमा राखिएको हुनुपर्नेछ । तथाकथित कुनै ऋणीले दिएको एकभन्दा बढी थैलीहरु वा एकभन्दा बढी थैलीहरु राखिएको एउटा थैलीमात्र धितो राखी वा सुनचाँदीको परीक्षण जाँच नगरी सुनचाँदी धितो कर्जा प्रवाह भएमा त्यस्तो कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नु पर्ने व्यवस्था रहेको छ ।

यस्तै कुनै बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजीको १ प्रतिशत वा सोभन्दा माथि सेयर भएका सर्वसाधारण समूहका सेयरधनीका साथै सञ्चालक, प्रमुख कार्यकारी अधिकृत र निजको एकाघर परिवारका सदस्यले सोही बैंकबाट कर्जा लिन नपाउने भएका छन् ।

Related posts

Leave a Comment