Sports 

पोखराले भित्रायो आन्द्रेस गौसलाई

०१ कार्तिक, काठमाडौँ । पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपिएल) को लागि अमेरिकाका विकेटकिपर तथा ब्याटर आन्द्रेस गौस Andries Gous लाई अनुबन्ध गरेको छ । उनी एनपिएलमा आवद्ध हुने पहिलो विदेशी खेलाडी बने ।

एनपिएल १५ मंसिरबाट ६ पुससम्म हुँदैछ । त्यसका लागि पोखराले ३० वर्षीय खेलाडी अनुबन्ध गरेको जनाएको छ । दायाँ हाते ब्याटरले उमेर समूहमा दक्षिण अफ्रिकाको लागि खेलेका थिए ।

उनले अमेरिकाबाट २० अन्तर्राष्ट्रिय खेलमा पाँच सय ९८ रन बनाएका छन् । अमेरिकाबाट तीन एकदिवसीय खेल्दा एक सय ५२ रन बनाएका छन् । सन् २०२४ मा क्यानाडाविरुद्ध डेब्यु गर्दै अमेरिकाको प्रतिनिधित्व गरेका थिए ।

पोखरा एभन्जर्सका मालिक सुबोध त्रिपाठीले गौसलाई उच्च प्रदर्शनका लागि शुभकामना दिएका छन् । पहिलो पटक नेपालमा लिग खेल्न लागेका गौसले उत्साहित रहेको बताए ।

यसअघि टोलीले इन्डियन प्रिमियर लिग (आईपिएल)मा चेन्नई सुपर किङ्सको प्रतिनिधित्व गरिसकेका राजिव कुमारलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । उनी चेन्नई सुपर किङ्सका ब्याटिङ र फिल्डिङ प्रशिक्षक हुन् ।

पोखराको मार्कीमा नेपाल राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल रहेका छन् ।

Related posts

Leave a Comment