Business Main Headlines Society 

राजस्व कार्यालय मकवानपुरले उठायो लक्ष्यको ८५ प्रतिशत राजस्व

१० कार्तिक, काठमाडौं । आन्तरिक राजस्व कार्यालय मकवानपुरले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा लक्ष्यको ८५ प्रतिशत राजस्व संकलन गरेको छ।

कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीका अनुसार चालु आव २०८१/८२ को पहिलो तीन महिनामा एक अर्ब ८६ करोड ७५ लाख रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा एक अर्ब ५७ करोड ८९ लाख रूपैयाँ राजस्व संकलन भएको छ।

यही साउनदेखि असोज महिनासम्मको अवधिमा अन्तःशुल्कतर्फ एक अर्ब ४१ लाख रूपैयाँ, आयकरतर्फ २० करोड ४४ लाख रूपैयाँ, मूल्यअभिवृद्धि करतर्फ १८ करोड ८५ लाख रूपैयाँ, स्वास्थ्य जोखिम करतर्फ १५ करोड ९९ लाख रूपैयाँ, ब्याजकरतर्फ एक करोड ८१ लाख रूपैयाँ र बहाल करतर्फ ३६ लाख रूपैयाँ राजस्व संकलन भएको प्रमुख सुवेदीले बताए।

यो अघिल्लो आर्थिक वर्ष २०८०/८१ को अवधिको तुलनामा बढी राजस्व संकलन भएको हो। अघिल्लो आव २०८०/८१ को पहिलो तीन महिनामा एक अर्ब ८८ करोड रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ७५ प्रतिशत अर्थात् एक अर्ब ४१ करोड रूपैयाँ राजस्व संकलन भएको थियो।

प्रमुख सुवेदीका अनुसार चालु आव २०८१/८२ मा आठ अर्ब ४४ करोड रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य छ। सो कार्यालयमा आयकरतर्फ ३२ हजार आठ सय ९८, मूल्य अभिवृद्धितर्फ पाँच हजार आठ सय चार, अन्तःशुल्कतर्फ एक हजार पाँच सय ८३, विथहोल्डतर्फ सात सय पाँच र व्यक्तिगततर्फका ७९ हजार चार सय ४४ करदाता रहेका छन्।

पछिल्लो समय मुलुकमा आर्थिक कारोबार बढ्नु, बैंक तथा वित्तीय संस्थाबाट ऋण प्रवाहमा सहजता हुनु, कर नीतिमा सुधार हुनु र नियमित बजार अनुगमन हुनुजस्ता कारणले अघिल्लो वर्षको तुलनामा चालु आवमा राजस्व संकलनमा सुधार आएको प्रमुख सुवेदीको भनाइ छ।

कार्यालयबाट व्यवसायी करदाता प्रमाणपत्र (प्यान) लिएकामध्ये धेरैजसो करदाताले लामो समयदेखि वार्षिक आय विवरण नबुझाएपछि कार्यालयले त्यस्ता करदाताको अभिलेख तयार पारेर कारबाही अघि बढाएको हो। वार्षिक आय विवरण नबुझाउनेमध्ये धेरैजसो ३० लाख रूपैयाँसम्मको कारोबार भएका साना करदाता र उपभोक्ता समिति छन्।

साथै ती करदाताको नामावलीसहित आय विवरण बुझाउनका लागि पहल गरिदिन मकवानपुर जिल्लाका १० वटै पालिकालाई पत्राचार गरिएको प्रमुख सुवेदीले बताए। व्यावसायिक करदाता प्रमाणपत्र लिएकामध्ये कतिपय करदाताको मृत्यु भएको, कतिपय वैदेशिक रोजगारीमा गएको र कतिपयले व्यवसायी बिक्री गरिसकेको कारणले पनि समयमा आय विवरण नबुझाउने करदाताको सङ्ख्या बढी देखिएको हुनसक्ने उनको कथन छ।

यस्तै सो कार्यालयले लामो समयदेखि कर नबुझाउने करदातामाथि समेत कारबाही अघि बढाएको छ। दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने करदाताको अभिलेख तयार गरेर बैंक खाता र सम्पत्ति रोक्का गरिएको प्रमुख सुवेदीले बताए।

Related posts

Leave a Comment