Education 

कान्ति माविमा ५ लाख ५५ हजारको अक्षयकोष स्थापना

१२ कात्तिक, बुटवल । बुटवल स्थित कान्ति माध्यमिक विद्यालयमा अध्ययनरत एकै परिवारका पूर्व विद्यार्थीहरूले आफ्नो माता पिताको स्मृतिमा ५ लाख ५५ हजार ५५५ रुपैयाँको अक्षयकोष स्थापना गरिदिएका छन् ।

कान्ति माध्यमिक विद्यालय बुटवलमा अध्ययनरत एकैघर परिवारका ६ जना छोरी र एक जना छोरा गरी ७ दिदीभाइहरुले आफ्नो बुबा तोपबहादुर श्रेष्ठ र आमा सावित्री श्रेष्ठको सम्झनामा ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँको ‘तोप बहादुर सावित्री श्रेष्ठ स्मृति अक्षयकोष ‘ स्थापना गरेका छन् ।

छोरीहरु सकुन्तला श्रेष्ठ प्रधान, संयोगिता श्रेष्ठ गुरुङ, कल्पना श्रेष्ठ नेपाल, सबिना श्रेष्ठ, शुभ लक्ष्मी श्रेष्ठ पुन, सुजता श्रेष्ठ र छोरा जनक श्रेष्ठले यो अक्षयकोष स्थापना गरेका हुन् । यी सातै जना कान्ति माविका पूर्व विद्यार्थी हुन् ।

उक्त अक्षय कोषको वार्षिक ब्याजको ७५ प्रतिशत रकम विपन्न र जेहनदार विद्यार्थी एक जना छात्र र एक जना छात्रालाई प्रदान गरिने अक्षयकोष दाता सबिना श्रेष्ठले बताइन ।

उक्त कोष बराबरको रकम विद्यालयका प्रधान अध्यापक गोविन्द ज्ञवाली र वडा नम्बर ४ का वडा अध्यक्ष नरिश्वर पौडेललाई दाताका तर्फबाट सबिना श्रेष्ठ र झलक लाल श्रेष्ठ लगायतले एकसाथ हस्तान्तरण गरेका थिए ।

यस अवसरमा बोल्दै वडा अध्यक्ष नरिश्वर पौडेलले यस्ता अक्षयकोषले समाज सेवा गर्नेहरुलाई प्रेरणा दिँदै विद्यार्थी र विद्यालयलाई सहयोग पुग्ने बताए ।

विद्यालयका प्रधान अध्यापक गोविन्द ज्ञवालीले अक्षय कोष दाताको चाहना अनुसार अक्षय कोष ब्याजको रकम दुईजना विद्यार्थीलाई प्रदान परिने जानकारी दिए ।

२०१० सालमा स्थापित यो कान्ति माध्यमिक विद्यालय यस क्षेत्रकै सरकारी विद्यालयहरू मध्यमा राम्रो विद्यालयको रुपमा पहिचान कायम गर्न सफल रहेको छ ।

Related posts

Leave a Comment