International Technology 

४३ वर्षदेखि निष्क्रिय ट्रान्समिटरबाट २४.८ अर्ब किलोमिटर टाढा रहेको यानले पृथ्वीमा गर्‍यो फोन !

२३ कार्तिक, काठमाडौं । ४३ वर्षदेखि प्रयोगविहीन रहेको ट्रान्समिटरको माध्यमबाट लाखौं किलोमिटर टाढा रहेको अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको भोयेजर १ अन्तरिक्ष यानले पृथ्वीसँग पुनः सम्पर्क स्थापना गरेको छ । मुख्य रेडियो ट्रान्समिटर बन्द भएपछि ब्याकअपको रूपमा रहेको दोस्रो ट्रान्समिटर (एस ब्यान्ड) प्रयोग गरेर यानले सम्पर्क कायम गरेको हो ।

नासाका अनुसार यो ट्रान्समिटरलाई सन् १९८१ यता प्रयोग गरिएको थिएन । तर, यानको सञ्चार प्रणालीमा समस्या देखिएपछि नासाले यसलाई पुनः सक्रिय बनाएको हो ।

समस्या उत्पन्न हुनुभन्दा केही दिनअघि, १६ अक्टोबरमा नासाले डीप स्पेस नेटवर्क (डीएसएन) मार्फत भोयेजरलाई हिटर चलाउन निर्देशन दिएको थियो । उक्त निर्देशनले यानलाई शक्ति सञ्चय गर्ने मोडमा पुर्‍याएपछि दुई दिनसम्म सम्पर्क टुटेको थियो ।

अनुसन्धानका क्रममा यानले मुख्य रेडियो ट्रान्समिटर (एक्स ब्यान्ड) बन्द गरी, कम शक्तिमा चल्ने एस ब्यान्ड ट्रान्समिटर अन गरेको पाइएको थियो । १८ अक्टोबरदेखि नासाले एस ब्यान्ड ट्रान्समिटरको प्रयोग गरेर भोयेजरसँग सम्पर्क पुनर्स्थापित गरेको छ । हाल यानलाई निर्देशन पठाउँदा वा डेटा प्राप्त गर्न लगभग २३ घण्टा लाग्ने गर्छ ।

नासाले यानको मुख्य ट्रान्समिटर कसरी पुनः सञ्चालनमा ल्याउने भनेर अनुसन्धान जारी राखेको जनाएको छ, र यो प्रक्रियामा केही साता लाग्न सक्नेछ ।

सन् १९७७ मा प्रक्षेपण गरिएको भोयेजर १ अन्तरिक्षको सिमाना पार गर्दै सन् २०१२ मा इन्टरस्टेलर स्पेसमा प्रवेश गरेको थियो । यो पृथ्वीबाट सबैभन्दा टाढा रहेको मानव निर्मित वस्तु हो र हाल पृथ्वीबाट २४.८ अर्ब किलोमिटर टाढा रहेको छ ।

Related posts

Leave a Comment