६ अर्ब लगानीमा दरबारमार्गमा २५ तलाको अन्नपूर्ण स्क्वायर होटल बन्दै
०३ मंसिर, काठमाडाैं । काठमाडाैंको दरबारमार्गमा २५ तला सहितको अन्नपूर्ण स्क्वायर निर्माण प्रारम्भ भएको छ । होटल अन्नपूर्ण रहेको स्थानमा भाटभटेनी समूह, लिटिल एन्जल्स र अन्नपूर्ण समूहले संयुक्त रूपमा निर्माण थालेको हो ।
सोमबार एक विशेष समारोहका बीच भूमि पुजा सम्पन्न गर्दै कम्पनीका अध्यक्ष मीनबहादुर गुरुङले सुन्दर नेपालको सुन्दरताको प्रतीकका रूपमा निर्माण थालिएको बताए । उनी भाटभटेनी सुपरमार्केटका अध्यक्ष पनि हुन् । भारतको आर्किटेक्चर कम्पनीले यसको डिजाइन गरेको गुरुङले बताए । दुई चरणमा काम सम्पन्न गर्ने योजना बनाएको जानकारी समेत उनले दिए । २०८५ वैशाख १ गतेदेखि होटल सञ्चालनमा ल्याउने लक्ष्य राखेको उनको भनाइ छ ।
अन्नपूर्ण स्क्वायर २५ तलाको हुनेछ । जहाँ होटल ९ लाख स्क्वायर फिट क्षेत्रफलमा रहनेछ भने ४० कोठा अपार्टमेन्ट हुनेछ । भाटभटेनीको एउटा स्टोर पनि त्यहाँ रहनेछ । कम्तिमा पनि ६ अर्ब रुपैयाँको लगानीमा निर्माण थालिएको होटलसँगै क्यासिनो पनि सञ्चालनमा आउनेछ । अहिले पुरानो संरचना भत्काउने काम भैरहेको छ । काठमाण्डौ महानगरपालिकाको अनुमतिपछि निर्माणको काम सुरु हुने उनले बताए ।
साढे तीन सय कोठा रहने उक्त होटल नेपालकै गौरव गर्न सक्ने संरचनाको रूपमा निर्माण गर्न लागिएको उनको भनाइ छ । होटलका कोठाको मूल्य भने ‘रिजनेवल’ हुने उनको दावी छ । होटल र आर्केड निर्माण हुनेछ । साढे तीन सय कोठासहितको होटल निर्माण हुन्छ । बैंक्वेट हल २५ सय, २ हजार र १५ सय क्षमताका तीनवटा हुनेछ । आर्केड डेढ वर्षमा र होटल साढे दुई वर्षमा निर्माण सकिने पनि उनले बताए । होटलको व्यवस्थापन आईटीसीको वेलकम ब्रान्डलाई दिएको समेत जानकारी उनले दिए ।
गुरुङलाई बढी कर तिर्नेको सूचीमा राख्दै सरकारले शनिबार विशेष सम्मान पनि गरेको थियो । रोजगारी सिर्जना गर्दै जाने र राज्य कोषमा धेर भन्दा धेरै कर तिर्दै जाने भाटभटेनीको लक्ष्य रहेको उनले बताए ।