जस्मिन पेन्ट्सले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

२३ पुस, काठमाडौँ । जस्मिन पेन्ट्स लिमिटेडको प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्न बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त भएको छ ।

जस्मिन पेन्ट्सका कार्यकारी अध्यक्ष लक्ष्मणप्रसाद अर्याल र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले आईपीओ निष्कासन सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

जस्मिन पेन्ट्सले प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ दरका ५ लाख कित्ताले हुन आउने पाँच करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्न लागेको हो । जसको निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा सानिमा क्यापिटल नियुक्त भएको हो ।

जस्मिन पेन्ट्स लिमिटेड मनकामना समूह अन्तर्गत स्थापित एक प्रमुख रंग उत्पादक कम्पनी हो, जसले विगत ३० वर्षदेखि फ्याब्रिकेशन व्यवसाय अन्तर्गत आधुनिक प्रविधिबाट रंग उत्पादन गर्दै आएको छ ।

अवसरको खोजी गरिरहेका चितवन भरतपुरका तीन दाजुभाइ गुणनिधि अर्याल, लक्ष्मण अर्याल र मधुसुदन अर्यालले ३१ वर्षअघि उद्योग सुरु गरेका थिए । मुलुकभरका करिब ६० जिल्लाका एक हजार डिलरले जस्मिन पेन्ट्सको व्यापार प्रवर्द्धनमा सहयोग गरिरहेका छन्। अहिले उद्योगमा मात्रै २ सयभन्दा बढीले रोजगारी पाएका छन्।

उद्योगले हालै ताइवानको इन्नोभेसन टेक्नोलोजी पेन्ट्स कम्पनी लिमिटेडसँग टेक्नोलोजी कोल्याबोरेसन पार्टनरसिपसमेत गरेको छ। भविष्यमा नवीन प्रविधि र उपभोक्ताको मागअनुसारको अझ उत्कृष्ट उत्पादनहरू बजारमा ल्याउने उद्योगको योजना छ।

सुरुवाती समयमा दैनिक एक टन मात्रै उत्पादन गरेको यस उद्योगले हाल दैनिक २० टनसम्म उत्पादन गर्दछ। जस्मिन पेन्ट्सका हालका अत्याधिक रुचाइएका उत्पादनमा बाहिरी भित्ताका लागि ‘कुल पेन्ट्स’, ‘रोयल ग्लेज’, ‘वेदर केयर’ रहेका छन् भने भित्री भित्ताका लागि होम, ट्रिम, म्याजोलिका इमल्सन रहेका छन्।

यस्तै, अन्य रङ्गरोगनका लागि आवश्यक इनामेल, डिस्टेमर, प्राइमर, ड्याम कन्ट्रोल पनि उद्योगमा उत्पादन तथा बिक्री हुँदै आएको छ। साथै, आगामी दिनमा थप नयाँ उत्पादन ल्याउने गरी काम भइरहेको कम्पनीले जनाएको छ ।

वि।सं २०५१ बाट पेन्ट्स उत्पादन सुरु गरेको जस्मिनले विभिन्न माइलस्टोनहरू पार गर्दै नेपालकै नम्बर एक पेन्ट्स बन्न पुगेको छ। उद्योगमा अहिले एक अर्बभन्दा बढी लगानी पुगिसकेको छ। यसबीचमा कम्पनीका उत्पादनले आइएसओ गुणस्तर चिह्न ९००१ः२००० सर्टिफिकेसन पाइसकेको छ। यस्तै, जस्मिन पेन्ट्सले सन् २०१८ मा ‘इन्टरनेसनल बिआइडी क्वालिटी अचिभमेन्ट गोल्ड अवार्ड–लन्डन’ र ‘नेपाल बेस्ट ब्रान्ड लिडरसिप अवार्ड–२०१८’ पाइसकेको छ। साथै, भरतपुर महानगरपालिकाले त्यस क्षेत्रकै उत्कृष्ट उद्योग तथा उत्कृष्ट करदाताको रूपमा सम्मानित गरेको छ।

Related posts

Leave a Comment