माघका लागि कुन बैंकको व्याजदर कति ?
२९ पुष, काठमाडौँ । वाणिज्य बैंकहरूले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकहरुले माघ १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । नयाँ ब्याजदरअनुसार अधिकांश बैंकहरूले पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।
पुस महिनाको तुलनामा माघ महिनामा बैंकहरुको ब्याजदर ०.०१५५ प्रतिशतविन्दु घटेको छ। २० बैंकहरू मध्ये २ बैंकले ब्याजदर घटाएका छन् भने १ बैैंकले बढाएको छ । अन्य वाणिज्य बैंकहरूले पुस महीनाकै ब्याजदरलाई माघ महीनामा पनि निरन्तरता दिएका छन् । ब्याजदर घटाउनेमा नेपाल एसबिआई बैंक र कृषि विकास बैंक रहेका छन् भने लक्ष्मी सनराइज बैंकले बढाएको छ ।
माघमा सिटिजन्स, ग्लोबल आइएमई, नबिल, कुमारी, माछापुच्छ्रे बैंकले सिद्धार्थ, एभरेष्ट, राष्ट्रिय वाणिज्य बैंक, सानिमा, प्रभु, प्राइम कमर्सियल, स्ट्यान्डर्ड चार्टर्ड, हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि र एनआइसी एशिया बैंकले पनि पुसकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
पुसमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर ग्लोबल आइएमईले ५.७५ प्रतिशत, एनआईसी एसियाले ६.६० प्रतिशत, लक्ष्मी सनराइजले ५.७५ प्रतिशत, एभरेष्टले ६ प्रतिशत, कुमारीले ५.३१ प्रतिशत प्रभुले ६.१० प्रतिशत र नेपाल बैंकले ५.६० प्रतिशत दिएका थिए। माघमा पनि यही ब्याजदर ग्राहकहरुले पाउने भएका छन्।
नेपाल एसबिआई बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ६ प्रतिशतबाट ५.५ प्रतिशतमा झारेको छ भने कृषि विकास बैंकले ५.५७ प्रतिशतबाट ५.५१ प्रतिशतमा झारेको छ। लक्ष्मी सनराइजले भने मुद्दति निक्षेपको अधिकतम ब्याजदर ५.५० प्रतिशतबाट बढाएर ५।७५ प्रतिशत पुर्याएको हो ।