खल्ती आजदेखि नवौं वर्षमा, ल्यायाे ८ रुपैयाँमै कफीदेखि हवाई टिकटसम्मका अफर
१४ माघ, काठमाडौं । डिजिटल वालेट खल्ती आजदेखि नवौं वर्षमा प्रवेश गरेको छ । २०१७ मा माेबाइल टपअप, बिल भुक्तानीजस्ता सुविधाबाट व्यावसायिक यात्रा थालेको खल्ती यो अवधिमा देशकै चर्चित भुक्तानी सेवाप्रदायक बनेको छ ।
युवापुस्तामाझ चर्चामा रहेको खल्तीले मनोरञ्जनात्मक कार्यक्रम, कन्सर्ट, खेलकुद र रियालिटी शोहरूका लागि टिकेटिङ, भोटिङ र मुभी टिकटिङ प्लेटफर्मको रूपमा आफ्नो पहिचान बनाएको छ । सरकारी सेवा सुविधाको डिजिटल भुक्तानीदेखि ग्याजेट खरिदका लागि ‘खल्ती मल’ र रेस्टुरेन्ट तथा मनोरञ्जनका लागि ‘प्लेसेस बाई खल्ती’ जस्ता सेवाहरू थपेर खल्तीले आफ्नो सेवा विस्तार गरेको छ । साथै पछिल्लो समय विभिन्न बीमा र लगानी जस्ता वित्तीय सेवा पनि आएका छन् ।
आठौं वार्षिकोत्सवको अवसरमा खल्तीले डिजिटल नेपालको यात्रामा साथ दिने सम्पूर्ण प्रयोगकर्ता, साझेदार, नियामक निकाय, एजेन्ट, मर्चेन्ट व्यवसायी र कर्मचारीहरूलाई धन्यवाद दिएको छ । खल्तीले गत वर्ष पनि सबैभन्दा बढी डिजिटल भुक्तानी कारोबार गर्ने भुक्तानी सेवाप्रदायकको रूपमा एनआईडीएचबाट सम्मान पाएको थियो । साथै खल्तीले नासआईटी अवार्ड लगायत अन्य धेरै सम्मान र अवार्डहरूजितेको छ । हालै खल्तीले गुगल प्ले स्टोरमा ५० लाख डाउनलोड पूरा गरेको छ ।
यो अवसरमा कम्पनीले ‘रिभोलुसनाइजिङ ग्रेट ८ इयर्स’ नारासहित विभिन्न अफर घोषणा गरेको छ । ७ देखि १८ माघसम्म चल्ने अफरमा ८ रुपैयाँमा कफी, स्वास्थ्य सुरक्षा, टपअप, मुभी र फ्लाइट टिकट अफरहरू रहेका छन् ।
यस अन्तर्गत पहिलो ८८ हजार ८८८ प्रयोगकर्तालाई ८ रुपैयाँमा कफी, पहिलो ८ हजार ८८८ प्रयोगकर्तालाई ८ रुपैयाँमा स्वास्थ्य बीमा प्याकेज, ८८८ भाग्यशाली प्रयोगकर्तालाई ८ रुपैयाँमा ५०० सम्मको टपअप, ८८ भाग्यशाली प्रयोगकर्तालाई ८ रुपैयाँमा मुभी टिकट र ८ भाग्यशाली प्रयोगकर्तालाई ८ रुपैयाँमा फ्लाइट टिकट अफर ल्याइएको छ ।
कफी अफर १३ देखि १५ माघसम्मका लागि मात्र मान्य हुने कम्पनीले जनाएको छ । यसका लागि खल्ती एपको ‘इन्टरटेनमेन्ट’ सेक्सनमा गई ‘प्लेसेस’ भित्र कफीको अफर छनोट गर्नुपर्नेछ ।
खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले खल्तीले वित्तीय समावेशीकरणमा जोड दिँदै आएको र यसले डिजिटल नेपालको यात्रामा महत्त्वपूर्ण भूमिका खेलेको बताए । उनले खल्तीलाई फाइनान्सियल लाइफस्टाइल ब्रान्डको रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा थप नवीन सेवाहरू ल्याउने बताए ।