दीपल ई–०७ ट्रान्सफर्मर एसयुभी नेपाली बजारमा, सुरूवाती मूल्य कति ?
१५ माघ, काठमाडौँ । नेपाली बजारमा दीपलको ट्रान्सफर्मर एसयूभी सार्वजनिक गरिएको छ। दीपलको लागि आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले सोमबार गाडी निर्माता कम्पनीका प्रतिनिधिहरूको समेत उपस्थितिमा एक कार्यक्रमको बिच दीपलको ‘ई–०७’ सार्वजनिक गरेको छ।
यस गाडीको पछाडिको भागलाई बटम थिचेर पिकअप ट्रकमा बदल्न सकिने मुख्य विशेषता रहेको छ। ८९.९८ किलोवाट आवरको ब्याट्री क्षमता भएको यो गाडी एकपटक चार्ज गर्दा ५६६ किलोमिटरसम्म यात्रा गर्न सकि जनाइएको छ।
कम्पनीले दिएको जानकारीअनुसार गाडीले २२५८ पीएस पावर (गाडीको इन्जिनको शक्ति, यसले गाडीलाई उच्च गति र तिव्र गतिमा चलाउन मद्दत गर्छ) र ३६५ एनएम टर्क (इन्जिनको घुमाउने शक्ति, जसले गाडीलाई चढाइमा राम्रो प्रदर्शन गर्न तथा कठिन स्थानहरूमा सजिलै अगाडि बढ्न मद्दत गर्छ) उत्पन्न गर्छ।
पाँच जनाले आरामसँग यात्रा गर्न मिल्ने यो गाडीमा २०० एमएम अग्लो ग्रउन्ड क्लियरेन्स छ। पछाडिको कार्गो स्पेसमा ६०० केजीसम्म सामान राख्न सकिने जनाइएको छ। यसलाई मल्टीपर्पस (बहुउपयोगी) गाडीका रूपमा प्रयोग गर्न सकिन्छ।
‘ई–०७’ मा गाडीमा यसको २८.८६ इन्चको ‘अग्मेन्टेड एचयूडी,’ ३६० डिग्री क्यामेरा, ‘थ्रीडी मोडेल कार कन्ट्रोल इन्टरफेस,’ र ‘अटोपार्किङ’ विशेषता छन्। यसबाहेक, गाडीमा ‘जिरो ग्रेभिटी’ सिट र १८ स्पिकर साउन्ड सिस्टम जस्ता आरामदायक फिचर पनि छन्।
यो गाडी अफरोडका लागि बढी उपयुक्त हुने बताइएको छ। यसको वाटर–वेडिङ (पानीमा घुस्ने) क्षमता ६०० एमएम छ, जसले पानी कट्न पनि सहज बनाउनेछ।
दीपल ई–०७ को एमआरपी एक करोड तीन लाख ९९ हजार भए पनि सुरूवाती समयको लागि ९९ लाख ९९ हजारमै उपलब्ध गराइएको छ। गाडी प्रेमी माझ यो गाडीले राम्रो प्रभाव पार्ने विश्वास गरिएको छ।
एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवालले नेपालको इभी बजारमा दीपल एस ०७ र एल ०७ सफल भइसकेको र यो नयाँ गाडीले पनि ७५० जना ग्राहक पाइसकेको जनाकारी गराए।
‘ग्राहकको सन्तुष्टिका लागि एमएडब्लुले हरसम्भव काम गरिरकेको छ। अहिले देशका ९० भन्दा बढी स्थानमा एमएडब्लुको चार्जिंग स्टेसन छन् जुन नेपालमै सबैभन्दा ठूलो सञ्जाल हो,’ उनले भने। दीपल ई०७ सेतो, कालो, खरानी र हरियो गरी चार वटा रंगमा उपलब्ध छ।