बीवाईडीले सार्वजनिक गर्यो ९,२०० वटा गाडी बोक्न सक्ने संसारकै ठूलो कार क्यारियर “बीवाईडी शेन्जेन“
१७ माघ, काठमाडौं । चीनको नयाँ ऊर्जा गाडी ( एनईभी ) निर्माण गर्ने अग्रणी कम्पनी बीवाईडीले संसारकै ठूलो रोल–अन-रोल–अफ (आरओ–आरओ) कार क्यारियर “बीवाईडी शेन्जेन“ सार्वजनिक गरेको छ।
यो जहाजले ९,२०० गाडी बोक्न सक्ने क्षमता राख्ने र यो बीवाईडी को दिगो यातायात र अन्तर्राष्ट्रिय विस्तारतर्फको महत्त्वपूर्ण कदम भ्एको कम्पनीले जनाएको छ।
चीनको जियाङ्सु प्रान्तको याङझाउमा निर्माण सम्पन्न भएर हालै पानीमा उतारिएको यो २१९ मिटर लामो र ३७.७ मिटर चौडा जहाज एलएनजी डुअल–फ्युल प्रविधि, बीवाईडी का अत्याधुनिक ब्याट्री प्याक, र शाफ्ट जेनेरेटरद्वारा संचालित छ। यी प्रविधिले “बीवाईडी शेन्जेन“ लाई संसारकै सबैभन्दा वातावरणमैत्री र कुशल कार क्यारियर बनाएको छ।
“बीवाईडी शेन्जेन“ ले बीवाईडीको बढ्दो जहाजहरूको समूहमा स्थान पाएको छ। यसअघि ‘बीवाईडी एक्सप्लोरर नं १’, ‘बीवाईडी हेफेई’ र ‘बीवाईडी चाङझोउ’ जस्ता जहाजहरूले ७,००० देखि ९,२०० गाडी बोक्ने क्षमता राख्दै अन्तर्राष्ट्रिय बजारमा एनईभी आपूर्ति गरेका थिए।
बीवाईडीले २०२६ सम्म आफ्नो जहाज संख्या ८ पुर्याउने योजना बनाएको छ, जसले बढ्दो विश्वव्यापी माग पूरा गर्न सहयोग पुर्याउनेछ।
सन् २०२४ मा बीवाईडी ले ४ लाख १७ हजारभन्दा धेरै विद्युतीय गाडी विदेश पठायो, जुन अघिल्लो वर्षभन्दा ७२ प्रतिशत बढी हो। विद्युतीय गाडीको माग बढ्दै जाँदा, बीवाईडी नयाँ प्रविधि, दिगो समाधान, र बलियो आपूर्ति प्रणालीसँग अगाडि बढिरहेको छ।