International Technology 

च्याटजीपीटीलाई टक्कर दिने ‘चिनियाँ हिरो’, जसले बनाए डिपसिक

१७ माघ, काठमाडौं । अमेरिकाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को दुनियाँमा च्याटजीपीटीमार्फत नयाँ तुफान लिएर आयो । त्यसबेला प्रविधि जगतमा अमेरिकाको सबैभन्दा ठूलो प्रतिस्पर्धी चीनलाई यसले असर गर्ने भन्ने प्रश्न पनि उठेको थियो ।

च्याटजीपीटी उदयको दुई वर्षपछि चीनको एआई मोडल आएपछि मानिसहरूमा अर्को प्रश्न पुनः एकपटक उठेको छ- “के अमेरिकाले चीनलाई नयाँ आविष्कार गर्नबाट रोक्न सक्छ ?”

चीनमा प्रयोगका लागि उपलब्ध नै नभएको च्याटजीपीटीभन्दा ‘राम्रो’ एआई बनाएर उसले आफ्नो जवाफ दिएको छ ।

यसअघि चीनको बाइडू जस्तो विशाल प्रविधि कम्पनीले च्याटबट नबनाएको होइन । तर यो राम्रो बन्न नसक्दा कतिपयले मजाकको रूपमा उडाएका थिए । त्यसपछि टेनसेन्ट र बाइटडान्स कम्पनीले पनि च्याटबट ल्याए । तर ती कम्पनीहरूले पनि राम्रो च्याटबट बनाउन नसकेका कारण च्याटजीपीटीको अगाडि टिक्न सकेनन् ।

यता अमेरिका भने च्याटजीपीटी सबैभन्दा राम्रो एआई भएकोमा विश्वस्त थियो । र, यसमा प्रयोग गरेको एड्भान्स चिप आफैसँग राख्न चाहन्थ्यो । त्यसैले बाइडेन सरकारले चीनलाई ती चिपहरू निर्यात गर्न प्रतिबन्ध लगाएको थियो । जसकारण चीनले अमेरिकालाई टक्कर दिने एआई बनाउन सक्ने कुरा कल्पनाभन्दा बाहिरको थियो । 

तर, चिनियाँ कम्पनीले जब डिपसिक एआई सार्वजनिक गर्यो, अमेरिकामा ठूला कम्पनीहरू रहेको सिलिकन भ्यालीदेखि संसारभर खैलाबैला मच्चियो । किनकि अमेरिकी कम्पनीले भन्दा अर्बौँ डलर कम रकम खर्च गरेर अरू च्याटबटलाई टक्कर दिने डिपसिक तयार भएको यसको निर्माण कम्पनीले दाबी गरेको छ ।

यतिबेला चिनियाँ सामाजिक सञ्जालमा  ‘एआई हिरो’ का नामले डिपसिकका संस्थापकको चर्चा पनि भइरहेको छ, जसले लन्च भएको केही दिनमै अमेरिकामा एप्पलको एपस्टोरमा सबैभन्दा धेरै हुने एपको सूचीमा पहिलो स्थान बनाएको छ ।

डिपसिकलाई ओपनएआईको प्रतिस्पर्धीको रूपमा हेरिएको छ । एप्पल स्टोरमा डिपसिक सबैभन्दा धेरै डाउनलोड भएपछि एनभिदिया, मेटा र माइक्रोसफ्ट जस्ता ठूला प्रविधि कम्पनीहरूको सोमबार शेयर मूल्यमा पनि निकै गिरावट आएको थियो ।

एआई दुनियाँमा डिपसिकको आकस्मिक उदय र लोकप्रियतासँगै लियाङ वेङफेङलाई कतिपयले ओपनएआईका सहसंस्थापक साम अल्टम्यानको चिनियाँ संस्करणको रूपमा चर्चा गरिरहेका छन् ।

कसरी बन्यो डिपसिक ?

४० वर्षीय लियाङ वेनफेङले चिनियाँ एआई कम्पनी डिपसिकमा आंशिक लगानी गरेका छन् । चीनको हाङ्ग्जाओमा यो सन् २०२३ मा स्थापित भएको स्टार्टअप कम्पनी हो ।

लियाङ सन् १९८० को दशकमा चीनको ग्वाङ्डोङमा हुर्केका थिए । सन् २०२४ को अन्तर्वार्तामा बताए अनुसार उनका बुबा प्राथमिक विद्यालयका शिक्षक थिए । उनले चीनको सबैभन्दा पुरानो र उत्कृष्ट शैक्षिक संस्था झेजियाङ विश्वविद्यालयबाट आर्टिफिसियल इन्टेलिजेन्समा स्नातक र स्नातकोत्तर डिग्री प्राप्त गरेका छन् ।

सन् २०१५ मा झेजियाङ विश्वविद्यालयमा सँगै अध्ययन गरेका अन्य दुई साथीहरू मिलेर लियाङले हाइ-फ्लायर नामक क्वान्टिटेटिभ हेज फण्डको स्थापना गरे । जो लगानीका लागि गणित र एआईमा निर्भर थियो । उनीहरूको यो हेज फण्ड चीनमा तीव्र रूपमा विकास हुँदै एक खर्ब युआन (करिब १९ खर्ब सात अर्ब रुपैयाँ) को कोष बन्यो । सन् २०२१ मा यो घटेर आठ अर्ब युआन (एक खर्ब ५२ अर्ब रुपैँया) पुगेको थियो । तापनि, यो चीनको सबैभन्दा महत्त्वपूर्ण हेज कोष बनिसकेको थियो ।

लियाङको सह-स्थापना गरेको क्वान्टिटेटिभ हेज कोष हाई-फ्लायर व्यापारिक रणनीति बनाउन एआईको प्रयोग गरेर नवीन रूपमा परिचित भएको थियो । कोषले सन् २०२३ मा व्यापारलाई  ‘आर्टिफिसियल जनरल इन्टेलिजेन्स’ को नयाँ अनुसन्धानका लागि कम्पनीले ध्यान केन्द्रित गरेको जानकारी गराएको थियो ।

लियाङले यसका लागि काम गर्ने टोली निर्माण गर्न अनुभवी इन्जिनियरको खोजीमा ननिस्केको बताएका छन् । अनुभवी इन्जिनियर खोज्नुको साटो उनले पेकिङ विश्वविद्यालय र सिङ्घुआ जस्ता चीनका शीर्ष विश्वविद्यालयमा पीएचडी गरेका विद्यार्थीहरूलाई सम्पर्क गरे । ती विद्यार्थीहरूले आफ्ना रिसर्चहरू चर्चित जर्नलहरूमा प्रकाशित गरिसकेका थिए र अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनहरूमा पुरस्कार पनि जितेका थिए । तर उनीहरूसँग कम्पनीमा गएर काम गरेको अनुभव कम थियो ।

डिपसिकको टोलीमा १४० भन्दा कम व्यक्तिहरू रहेको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् । चिनियाँ विश्वविद्यालयहरूबाट टोलीमा समावेश भएका उनीहरूलाई, जसको धेरैजसो इन्टरनेट प्रयोगकर्ताले ‘घरमा विकसित प्रतिभा’ भनेर गर्वका साथ घोषणा गरेका छन् ।

चिनियाँ कर्पोरेट रेकर्डका अनुसार, हाई-फ्लायरसँग एआई मोडेलहरू ट्रेन प्रयोग हुने चिप क्लस्टरहरूसँग सम्बन्धित पेटेन्टहरू पनि उपलब्ध छन् ।

जो बाइडेन प्रशासनले चीनमा एआई चिप्स निर्यातमा प्रतिबन्ध लगाउनुअघि लियाङले सन् २०२१ मा एआई साइड प्रोजेक्टको रूपमा हजारौं एनभिदिया ग्राफिक्स प्रोसेसरहरू किन्न थालेका थिए ।

रोयटर्सका अनुसार, हाई-फ्लायरको एआई इकाईले सन् २०२२ मा १० हजार ए१०० चिप्सको क्लस्टर आफूहरूसँग रहेको र सञ्चालन गरेको बताएको थियो ।

जुलाई २०२४ मा वेभ्ससँगको एक अन्तर्वार्तामा लियाङले चिनियाँ कम्पनीहरूले विकसित प्राविधिक आविष्कार गर्न वर्षौंदेखि अभ्यस्त भइसकेको बताएका थिए, जुन अन्य देशमा भने दिगो नरहेको उनको तर्क थियो । ​“यस पटक हाम्रो लक्ष्य छिटो नाफा कमाउने होइन, तर इकोसिस्टमको विकास गर्न प्राविधिक सीमा क्षेत्रलाई फराकिलो बनाउनु हो,” उनले भनेका थिए ।

लियाङले आफ्नो मोडेलको एआई विकास गर्न ५६ लाख अमेरिकी डलर (७७ करोड ७५ लाख रुपैयाँ) मात्र खर्च गरेर सबैलाई चकित बनाएका छन् ।

फाइनान्सियल टाइम्सका अनुसार, डिपसिक आफ्ना एआई इन्जिनियरहरूलाई सबैभन्दा धेरै तलब दिनको लागि परिचित छ, जो हाङग्जाउ र बेइजिङका कार्यालयहरूमा कार्यरत छन् ।

चीनको शीर्ष नेतृत्वले पनि डिपसिकलाई ध्यानमा राखेका छन् । जनवरी २० मा डिपसिक-आर१ मोडल रिलिज हुनुभन्दा पहिले, लियाङले चिनियाँ प्रधानमन्त्री ली छियाङले आयोजना गरेको उद्योगका व्यवसायी र अन्य व्यक्तिहरूसँगको बन्द कोठाको बैठकमा सहभागिता जनाएको चिनियाँ राज्य मिडियाले लेखेका छन् ।

लियाङ डिपसिकको माध्यमबाट चीनलाई प्रविधिको दुनियाँमा थप अगाडि धकेल्न चाहन्छन् । उनले यसअघि एक अन्तर्वार्तामा भनेका छन्, ​“हामीले चीनको एआई सधैं अरूलाई पछ्याउने स्थितिमा देखेका छौँ । हामी प्रायः चीन र अमेरिकाबीच एक वा दुई वर्षको अन्तर छ भन्छौँ । तर वास्तविक खाडल भनेको मौलिकता र त्यसको नक्कलबीचको हो । यदि यो परिवर्तन भएन भने चीन सधैं अरूलाई फलो मात्र गरिरहनेछ । यसका अन्त्यका लागि केही नयाँ खोज आवश्यक छ ।”

लियाङले डिपसिकलाई बटम-अप कम्पनीको रूपमा सञ्चालन गरेका छन् । कम्पनीमा उनले आफ्नो कुनै विशेष भूमिका नलिई चलाउँदै आएका छन् । सोही विषयमा बोल्दै उनले भनेका छन्, “मलाई विश्वास छ, इनोभेसन सबैभन्दा पहिले विश्वासको विषय हो । सिलिकन भ्यालीमा किन सधैं नयाँ आविष्कार आउँछ ? किनभने उनीहरू प्रयास गर्ने साहस गर्छन् । च्याटजीपीटी आउँदा चीन अनुसन्धानमा विश्वास गर्नसक्ने अवस्थामा पुगिसकेको थिएन । लगानीकर्तादेखि ठूला प्राविधिक फर्महरूसम्म धेरैले अनुसन्धानमा ठूलो खाडल पाए । बरु एप्लिकेसन बनाउन बढी केन्द्रित भए । तर इनोभेसनका लागि आत्मविश्वास चाहिन्छ, जुन युवाहरूमा बढी हुन्छ ।”

डिपसिकका विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नजिकका सल्लाहकार, भेन्चर क्यापिटलिस्ट मार्क एन्ड्रिसेनले एएफपीलाई भनेका छन्, “डिपसिक आर-१ नयाँ उचाइमा पुगेको क्षण हुन सक्छ । यो मैले देखेको सबैभन्दा अचम्मको र प्रभावशाली सफलताहरू मध्ये एक हो ।”

Related posts

Leave a Comment