सेयर बजार २७३० अंकमा, खुम्चियो कारोबार
२१ माघ, काठमाडौं । सोमबार सेयर बजार अघिल्लो दिनको तुलनामा २.४१ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २७३० मा कायम भएको छ । दिउँसो १२ बजे २७६३ अंकसम्म पुगेको बजारमा सोही वृद्धि टिक्न सकेन ।
बजार सामान्य अंकमा बढ्दा कारोबार रकम घटेको छ । अघिल्लो दिन १२ अर्ब ९५ करोडको कारोबार भएकोमा आज ११ अर्ब ८७ करोडको भयो । ९७ कम्पनीको मूल्य बढ्दा १३७ को घट्यो भने ८ को स्थिर रह्यो ।
सेक्टरका सूचकमा मिश्रित उतारचढाव देखिएको छ । बैंकिङ ०.५४, जीवन बीमा ०.६७, उत्पादन तथा प्रशोधन ०.२७, माइक्रोफाइनान्स ०.१०, निर्जीवन बीमा ०.८० र व्यापार ०.७९ प्रतिशत बढे ।
अन्य ०.६०, लगानी ०.४७, हाइड्रोपावर ०.४८, होटल तथा पर्यटन ०.०१, फाइनान्स १.०७ र विकास बैंक समूह ०.३९ प्रतिशत घटे । सोमबार पहिलो एक घण्टा लगानीकर्ताको आकर्षणमा बैंकिङ सेक्टर परेको थियो । एक घण्टामै सो सेक्टर २.११ प्रतिशत बढेको थियो ।
आज उपकार लघुवित्त र भूगोल इनर्जीको मूल्य १० प्रतिशत बढ्यो । सप्तकोशी विकास बैंकको ८.७४, सामुदायिक लघुवित्तको ७.८४, सामलिङ पावरको ६.८ प्रतिशत मूल्य बढ्यो ।
ग्रीन डेभलपमेन्ट बैंक र रिभरफल्स पावरको मूल्य १० प्रतिशत घट्यो । कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, सप्तकोशी विकास बैंक, बरुण हाइड्रोपावर, साहस ऊर्जा र एक्सल डेभलपमेन्ट बैंक क्रमशः अगाडि रहे ।