खारेजीको सँघारमा सत्र सहकारी
०४ फागुन, सिन्धुपाल्चोक । दुई वर्षदेखि निष्क्रिय रहेका १७ वटा सहकारी सङ्घ संस्थालाई भोटेकोशी गाउँपालिकाले खारेजीको प्रक्रिया अघि बढाएको छ । गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै २१ दिनभित्र संस्थाको दर्ता प्रमाणपत्र, सक्कल पान, पछिल्लो लेखा परीक्षणको प्रमाणित प्रतिलिपि, पछिल्लो साधारण सभा भेलाको छायाँप्रतिलगायतका कागजातसहित पालिकाको सहकारी शाखामा सम्पर्कमा आउन ति सहकारीलाई निर्देशन दिएको छ ।
निर्धारित समयमा सम्पूर्ण कागजातसाथ सम्पर्कमा नआउने सहकारीलाई खारेजी गरिने पालिकाका अध्यक्ष पासाङनुर्पु शेर्पाले जानकारी दिनुभएको छ । उहाँका अनुसार साबिक तातोपानी–१ ठेगाना रहेको भोटेकोशी गाउँपालिका–२ को उमर उज्यालो साना किसान कृषि सहकारी संस्था लिमिटेड, भोटेकोशी–२ को त्रिशक्ति कृषि सहकारी संस्था लिमिटेड, सोही ठेगानाका लगनशील महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड, भोटेकोशी–२ कै कैलाश बचत तथा ऋण सहकारी संस्था लिमिटेड, भोटेकोशी–५ को कोकरसिङ्ग उपभोक्ता सहकारी संस्था लिमिटेड खारेजीको प्रक्रियामा छन् । त्यस्तै भोटेकोशी–५ कै बन्जी सामुदायिक कृषि सहकारी संस्था लिमिटेड, भोटेकोशी–२ को भोटेकोशी महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, भोटेकोशी–५ को निसाना उपभोक्ता सहकारी संस्था लिमिटेड, भोटेकोशी–४ को हिमालयन मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, भोटेकोशी–२ को लार्चा फुमाचे कृषि सहकारी संस्था लिमिटेड, भोटेकोशी–२ कै मितेरी उपभोक्ता सहकारी संस्था लिमिटेड, भोटेकोशी–५ को सयपत्री उपभोक्ता सहकारी संस्था लिमिटेड, भोटेकोशी–१ को शीतल उपभोक्ता सहकारी संस्था लिमिटेड, भोटेकोशी–२ को लिस्तिमाई बचत तथा ऋण सहकारी संस्था लिमिटेड पनि सहकारी दर्ता खारेजी प्रक्रियामा परेको सहकारी शाखाले जनाएको छ ।
भोटेकोशी–४ मा रहेको थानसिङ्ग कृषि सहकारी संस्था लिमिटेड, भोटेकोशी–२ को सिन्धु पर्यटन सहकारी संस्था लिमिटेड र भोटेकोशी–२ मै रहेको गोर्खा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई पनि सहकारीको दर्ता खारेजी गर्न भोटेकोशी गाउँपालिकाले सूचना जारी गरेको छ । उक्त सहकारीले सहकारीको मूल्यमान्यता, सिद्धान्तमा नरही साधारण सभासमेत नगरेको, सहकारीमा आबद्ध सदस्यको दैनिकी रूपान्तरणमा नलागेको, बचत रकम फिर्ता नदिएको, सहकारीका कुनै पनि गतिविधि नगरेका कारण दर्ता खारेजीमा जानु परेको अध्यक्ष शेर्पाले बताउनुभएको छ ।