बैंकिङले उचाल्यो सेयर बजार, १० अर्ब नाघ्यो कारोबार
०५ फागुन, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से २९.८७ अंक (१.१० प्रतिशत) बढेको छ । सो अंकको वृद्धिपछि २७२७ मा कायम भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ ।
अघिल्लो दिन ९ अर्ब ४७ करोडको कारोबार भएकोमा आज १० अर्ब ४ करोडको भयो । १६६ कम्पनीको मूल्य बढ्दा ७४ को घट्यो भने ४ को स्थिर रह्यो ।
बैंकिङ सेक्टरमा आएको उल्लेख्य वृद्धिका कारण यस दिन समग्र बजार बढ्यो । पूँजीकरणका आधारमा सबैभन्दा ठूलो सेक्टर रहेकाले बैंकिङको प्रभाव बढी पर्दछ । यो सेक्टर आज नेप्सेभन्दा बढी २.१६ प्रतिशत बढ्यो ।
त्यस्तै विकास बैंक ०.३३, होटल तथा पर्यटन २.२९, लगानी ०.२०, जीवन बीमा ०.८९, उत्पादन ०.७७, माइक्रोफाइनान्स २.४५, निर्जीवन बीमा १.०७ र अन्य समूह २.४७ प्रतिशत बढे । व्यापार १.२७, हाइड्रोपावर ०.१५ र फाइनान्स ०.८४ प्रतिशत घटे ।
६ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, कुथेली बुखरी स्मल हाइड्रोपावर, एक्सल डेभलपमेन्ट बैंक, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र दिव्यश्वरी हाइड्रोपावर छन् । हालै सूचीकृत गार्डियनको मूल्य प्रतिकित्ता ५८६ रुपैयाँ ३० पैसा पुगेको छ ।
सप्तकोशी विकास बैंकको मूल्य १० प्रतिशत नै घट्यो । सेन्ट्रल फाइनान्सको ४.५, ग्रीन डेभलपमेन्टको ४.२ र बेस्ट फाइनान्सको ३.८ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी, सीईडीबी होल्डिङ्स, एनआरएन इन्फ्रास्ट्रक्चर, रिलायन्स फाइनान्स र युनाइटेड इदी मर्दी हाइड्रोपावर क्रमशः अगाडि रहे ।