Business Main Headlines 

६ महीनामा विद्युत् प्राधिकरणको नाफा ११ अर्ब ३६ करोड

१७ फागुन, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महीनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ।

सूचनाको हक सम्बन्धी ऐनको व्यवस्था बमोजिम सार्वजनिक गरिएको विवरण अनुसार प्राधिकरणले यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्यबाट कुल ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको छ। विद्युत् खरीद, प्रशासनिक, विभिन्न आयोजना लगायतमा जम्मा ५९ अर्ब आठ करोड रुपैयाँ खर्च गरिएको छ। जसबाट साउनदेखि पुस मसान्तसम्म प्राधिकरणको अप्रशोधित नाफा (करकट्टी गर्नुअघि) ११ अर्ब ३६ करोड रुपैयाँ हुने प्रक्षेपण गरिएको प्राधिकरणले जनाएको छ।

आव २०७२/७३ मा आठ अर्ब ८९ करोड रुपैयाँ वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरूबाट निरन्तर नाफामा छ। गत आव २०८०/८१ मा प्राधिकरणले १४ अर्ब ४६ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।

आफूले कमाएको नाफाबाट प्राधिकरणले विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार एवम् सुदृढीकरण र विद्युतीकरणतर्फका आयोजनामा लगानी गरिरहेको छ।

प्राधिकरणले चालू आवको ६ महीनामा विद्युत् बिक्रीबाट ५३ अर्ब १८ करोड रुपैयाँ संकलन गरेको छ। यस अवधिमा प्राधिकरणका सहायक तथा सम्बद्ध कम्पनीबाट एक अर्ब १५ करोड र अन्य निजी उत्पादक कम्पनीबाट पाँच अर्ब १६ करोड गरी जम्मा ६ अर्ब ३१ करोड युनिट विद्युत खरीद गरिएको छ। खरीद गरिएको विद्युत्‌का लागि ३४ अर्ब ८४ करोड रुपैयाँ भुक्तानी भएको छ।

भारतबाट २४ करोड २० लाख युनिट विद्युत् आयात गरी एक अर्ब ६५ करोड रुपैयाँ भुक्तानी गरिएको छ। गत साउनदेखि पुससम्म एक अर्ब ७७ करोड १८ लाख युनिट विद्युत् भारततर्फ निर्यात गरी १३ अर्ब नौ करोड रुपैयाँ आम्दानी गरिएको छ।

यस अवधिमा सरकार र वैदेशिक सहायताबाट प्राप्त विकास बजेट अन्तर्गत विभिन्न आयोजना र विद्युतीकरणमा प्राधिकरणबाट १३ अर्ब ३५ करोड रुपैयाँ खर्च गरिएको छ। वैदेशिक सहायता सोझै भुक्तानीतर्फ १० अर्ब ४९ करोड रुपैयाँ खर्च भएको प्राधिकरणले जनाएको छ।

Related posts

Leave a Comment