Lifestyle Main Headlines Society 

चर्किएका भित्ता नियालेका चित्र ‘सम्पदाका रेखाहरू’

२७ चैत, काठमाडौँ । २०७२ सालको विनाशकारी भूकम्प र त्यसपछिका परकम्प मानिसले अझै बिर्सिएका छैनन् । हाल पनि बारम्बार आइरहने भूकम्पले धेरैलाई २०७२ वैशाख १२ को कहालीलाग्दो दिन स्मरण गराउँछ । त्यही घटनाले धेरै मानिस घरवारविहीन भए भने धेरैका घरका भित्ता अहिले पनि उदेकलाग्दो देखिन्छन् । त्यही भूकम्पले चर्किएका भित्तामाथि कलाकार रवीन्द्र श्रेष्ठले एउटा विशेष रेखाका रूपमा आफ्नो क्यानभासमा उतार्नुभएको छ ।

“२०७२ सालमा गएको भूकम्पले मेरा घरका भित्ता पनि चर्किएका थिए र त्यही भित्तामा चर्किएको भागलाई एक विशेष रेखाका रूपमा मैले देखेँ । त्यसपछि नै मैले चित्रका रेखा कोरेर क्यानभासमा उतार्ने निर्णय गरेको हुँ,” श्रेष्ठले भन्नुभयो ।

‘भूकम्पका रेखाहरू’ नाम दिएर त्यसलाई विम्बका रूपमा क्यानभासमा उतारेको उहाँले बताउनुभयो । भूकम्पमा हाम्रा थुप्रै सम्पदा र कलाकृति मारमा परे । त्यसलाई त्यही रेखाभित्र राखेको श्रेष्ठ बताउनुहुन्छ । उहाँले थप्नुभयो, “अहिले पनि कतै चर्किएका भित्ता देख्नेबित्तिकै भूकम्प र यसमा परेका कलाकृतिको याद आउँछ ।” इतिहास हेर्ने हो भने प्रत्येक ठुला घटनाक्रममा केही न केहीको सिर्जना भइरहेको पाइन्छ । पिकासोको विश्व प्रसिद्ध चित्र ‘गुर्निका’ र गोयाको ‘दी थर्ड अफ मे’ उदाहरण हुन् जुन युद्धको विषयवस्तुमा जन्मिएका कलाकृति थिए,” कलाकार श्रेष्ठले भन्नुभयो ।

चित्र कोर्दा कुनै एउटै माध्यममा मात्र सीमित रहन नसकिने श्रेष्ठ बताउनुहुन्छ । समयको बहाव र घटनाक्रमसँगै विचार जन्मन्छ र ती विचारलाई अभिव्यक्त गर्ने क्रममा जुन माध्यम आउँछन् त्यही माध्यम प्रयोग गरिरहने उहाँको भनाइ थियो । बागमती प्रादेशिक ललितकला प्रदर्शनी–२०८१ मा राखिएको एउटा सानो खाली फ्रेम भनौँ या अघिल्लो वर्ष राष्ट्रिय प्रदर्शनीमा राखिएका ‘डुङ्गा र सिक्का’ र ‘डुङ्गा चियाघर’ यसका ज्वलन्त उदाहरण हुन् ।

भूकम्पका रेखाका स्वरूपमा केही परिवर्तन गरेर अहिले यसको नाम पनि फेरिएको उहाँले बताउनुभयो । भित्ताको रेखाको नाम हेरिटेज लाइन अर्थात् ‘सम्पदाका रेखाहरू’ भएको बनेको छ । यी रेखा एक हिसाबमा आस्था, विश्वास र दैवी शक्तिका रेखा हुन् । जसले तपाईं, मलाई र हामीलाई सम्बन्धमा जोड्न ठुलो मद्दत पुर्‍याउने उहाँको भनाइ छ ।

Related posts

Leave a Comment