Banking Business 

बैशाखमा कता जाला बैंक ब्याजदर ?

२८ चैत, काठमाडौँ । बैशाख महिनामा ब्याजदर स्थिर हुने देखिएको छ । बैंकरहरूले बैंक ब्याजदर घटाउने वा बढाउने दुवै अवस्था नरहेको बताउँदै बैशाखमा स्थिर रहने जनाएका छन् । मसान्तका दिन बैंकहरूले नयाँ महिनाका लागि ब्याजदर प्रकाशित गर्दै आएका छन् । जसअनुसार शुक्रबार बैंकहरूले आगामी महिनाका लागि ब्याजदर प्रकाशित गर्नेछन् । सो ब्याजदर अहिले धेरै बैंकहरूको यथावत नै रहेको बैंकरहरूको भनाइ छ ।

पछिल्ला केही महिना यता ब्याजदर न्यूनतम विन्दुमा छ । जसकारण उनीहरूले ब्याजदर थप घटाउन सक्दैनन् । यसर्थ वैशाखमा पनि बैंकहरूको ब्याजदर स्थिर रहने उनीहरूको भनाइ छ ।

कर्जा विस्तारका लागि अपेक्षित गतिमा कर्जा विस्तारका लागि बैंकहरूले सकिरहेका छैनन् । जसकारण बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम प्रयाप्त अवस्थामा छ । बैंकरहरूका अनुसार, पछिल्ला केही महिनायता कर्जा विस्तार सुष्त गतिमै भएपनि क्रमशः बढ्ने ट्रेण्डमा छ । आयात निर्यातमा भएको वृद्धि तथा सस्तो ब्याजदरका कारण कर्जा केही बढ्न थालेसँगै ब्याजदर स्थिर रहन पुगेको हो । यसबाहेक केन्द्रीय बैंकको नीतिका कारण घटाउने अवस्था नहुँदा बैंकहरूले ब्याजदर स्थिर राख्नुपरेको बैंकरहरू बताउँछन् ।

बैंकहरूले गत पुस देखि नै ब्याजदर घटाउन छाडेका छन् । पुस, माघ, फागुन हुँदै चैतमा पनि उनीहरूले ब्याजदर घटाएनन् । बैंकहरूले फागुनको तुलनामा चैतमा मुद्दति निक्षेपको ब्याजदर औैसतमा ०.०८ प्रतिशतले घटाएर ५.९३ प्रतिशत कायम गरेका थिए । फागुनमा भने निक्षेपको औसत ब्याजदर ६.०१ प्रतिशत थियो । आगामी बैशाखमा यो ब्याजदरमा सामान्य फेरबदल हुन सक्ने भएपनि धेरै बैंकहरूले ब्याजदर स्थिर राख्ने मनस्थिति राखेका छन् ।

बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीच अन्तर बढीमा ५ प्रतिशतभन्दा धेरै गराउन नपाउने व्यवस्था छ । यस्तै संस्थागत मुद्दती निक्षेपमा व्यक्तिगत मुद्दती निक्षेपभन्दा कम्तीमा १ प्रतिशत विन्दुले ब्याजदर कम गर्नुपर्छ ।

पछिल्ला महिनाहरूमा बैंकको कर्जा प्रवाह केही बढेको छ । यद्यपी त्यो सुस्त गतिमै रहेकाले ब्याजदर बढाउन सक्ने अवस्था पनि नरहेको बैंकरहरू बताउँछन् । विगतको तुलनामा चैत महिनामा बैंकबाट प्रवाह हुने कर्जा यस पटक केही सुस्ताएको छ । विगतमा निक्षेप भन्दा कर्जा बढी हुने गरेकोमा अहिले चैतमा कर्जा निकै सुस्त देखिएको एक बैंकर बताउँछन् ।

ब्याजदर घट्दै गएपनि निजी क्षेत्रले कर्जाको माग बढाउन सकेका छैनन् । जसकारण अहिले कर्जा प्रवाह बढ्न नसकेको हो । अर्थतन्त्रको सुस्तता हट्दै गएपनि पूर्ण रुपमा ‘रिकभर’ भइसकेको अवस्था छैन ।

बैंकहरूले पनि पछिल्लो समय कर्जा विस्तार भन्दा पनि कर्जा असुलीमा ध्यान केन्द्रित गरेका छन् । यद्यपी कर्जा असुली अपेक्षित गतिमा हुन नसक्दा उनीहरूले कर्जा लगानी गर्न इच्छुक देखिएका छैनन् ।

केन्द्रीय बैंकका अनुसार पछिल्ला महिनाहरूमा बैंकहरूको आधार दर, निक्षेपको भारित औसत ब्याजदर र कर्जाको भारित औसत ब्याजदर पनि घट्दै गइरहेको छ । २०८१ फागुनमा वाणिज्य बैंकहरुको औसत आधार दर ६.३४ प्रतिशत, विकास बैंकहरुको ८.४२ प्रतिशत र वित्त कम्पनीहरुको ९.३२ प्रतिशत रहेको छ । २०८० फागुनमा वाणिज्य बैंकहरुको औसत आधार दर ८.७७ प्रतिशत, विकास बैंकहरुको १०.७१ प्रतिशत र वित्त कम्पनीहरुको १२.३३ प्रतिशत रहेको थियो ।

यस्तै २०८१ फागुनमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ४.५४ प्रतिशत, विकास बैंकहरुको ५.३२ प्रतिशत र वित्त कम्पनीहरुको ६.३६ प्रतिशत रहेको छ । २०८० फागुनमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६.७४ प्रतिशत, विकास बैंकहरुको ७.९३ प्रतिशत र वित्त कम्पनीहरुको ९.१३ प्रतिशत कायम भएको थियो ।

त्यसैगरी, २०८१ फागुनमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर ८.४० प्रतिशत, विकास बैंकहरुको ९.७८ प्रतिशत र वित्त कम्पनीहरुको १०.५३ प्रतिशत रहेको छ । २०८० फागुनमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर १०.७८ प्रतिशत, विकास बैंकहरुको १२.५२ प्रतिशत र वित्त कम्पनीहरुको १३.६१ प्रतिशत रहेको थियो ।

Related posts

Leave a Comment