एकनास छैनन् सहकारी : कतै बचत फिर्ता पाउनै मुस्किल, कतै बचतको ओइरो
१४ मंसिर, पोखरा । पोखराका गंगाबहादुर गुरुङले सहकारीमा करोडौँ रकम बचत गरेका छन् । ५ करोड रुपैयाँभन्दा बढी रकम सहकारीमा जम्मा गरेका उनी सहकारीका कारण नै आफ्नो दैनिकी सहज भएको बताउँछन् ।
गुरुङले भने, ‘त्यही सहकारीका कारण चुलो बलेको छ । छाक टरेको छ ।’
कयौँ सहकारीका बचतकर्ता आफ्नो रकम फिर्ताका लागि सडक संघर्षदेखि विभिन्न निकायमा धाइरहेको समयमा गुरुङ भने ठिक विपरीत अवस्थामा छन् । पोखरास्थित पोखरा रोयल बचत तथा ऋण सहकारीका बचतकर्ता गुरुङलाई अहिले सहकारीको रकम हिनामिना सम्बन्धी हावा–हुण्डरीले कुनै असर गरेको छैन ।
‘दिनदिनै आन्दोलन छ । राखेको पैसा निकाल्न पनि महाभारत भइरहेको छ अन्ततिर,’ उनले भने, ‘मलाई त आनन्दले निन्द्रा लाग्छ । सहकारीप्रति मेरो विश्वास छ । हाम्रो सहकारीमा कुनै समस्या छैन ।’
सहकारीको वार्षिक साधारण सभा र बैठकहरूमा सहकारीको अवस्थाबारे विज्ञबाटै जानकारी लिन्छन् गुरुङ । ‘अस्ति भर्खर पनि विज्ञ आएर हामीलाई सहकारीमा समस्या छैन भनेका छन्,’ उनले भने, ‘चाहिएको बेला पैसा निकाल्न पाइएको छ । कहिल्यै फर्किनुपरेको छैन ।’
आफूहरूको विश्वासले सहकारी चलेको र सहकारीको विश्वासले आफूहरूजस्ता बचतकर्ता चलेको गुरुङ सुनाउँछन् । उनले भने, ‘त्यो सहकारी हाम्रो भकारी हो, हामीले नै संरक्षण गर्नुपर्छ ।’
पोखरा अहिले सहकारी ठगीको इपिसेण्टर नै बनेको छ । सानादेखि ठुला सहकारी पनि सञ्चालक समितिका सदस्यहरूले गरेको आर्थिक हिनामिनाबाट प्रताडित भएका छन् । बचतकर्ता पीडित बनेका छन् ।
सबैतिर सहकारीप्रति वितृष्णा बढ्दै जाँदा रोयल सहकारीमा चाहिँ दिनदिनै सेयर सदस्य थपिएका छन्, बचत रकम बढेको छ ।
स्थानीय नारायण गिरी ६ महिनाअघि रोयलको सदस्य बने । केही रकम मुद्दतीमा राखेका उनी सहकारीसँग तर्सिनुपर्ने अवस्था नरहेको बताउँछन् । ‘सहकारी भनेपछि मान्छे डराउने र तर्सिने अवस्था छ । तर मैले यही बेला सहकारीमा पैसा राखेको छु । राम्रोसँग बुझेर पारदर्शी भएको सहकारीमा रकम राख्न डराउनुपर्दैन,’ उनले भने ।
आफूलाई बैंकभन्दा सहकारीको विश्वास लाग्ने गिरी बताउँछन् । ‘तर सबै सहकारी राम्रा छन् भन्ने होइन । विचार गरेर, बुझेर कारोबार गर्नुपर्छ,’ उनले भने ।
रोयल सहकारीका सूचना अधिकारीसमेत रहेका मुख्य प्रबन्धक मिलन ढकालका अनुसार विभिन्न सहकारी संस्थामा समस्या आएपछि रोयलमा डिपोजिट १ अर्ब ६३ करोडबाट बढेर १ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । आर्थिक तरलता पनि १७ प्रतिशतबाट थपिएर ३८ प्रतिशत पुगेको उनले बताए ।
‘यही बिचमा ५ सयभन्दा बढी सदस्य हाम्रोमा थपिनुभएको छ । बैंकबाट निकालेर पनि यहाँ पैसा जम्मा गर्नुभएको छ,’ उनले भने, ‘चारैतिर सहकारी डुबेको समाचार सुन्दा पनि हाम्रा सेयर सदस्य र बचतकर्ताहरू कहिल्यै आत्तिएर पैसा निकाल्न आउनुभएन । सबैले रोयल सहकारीलाई बैंक भन्छन् । न ब्याजदर महँगो, न त खराब कर्जा छ ।’
समग्र लगानीमध्ये ८ प्रतिशत हाराहारीमात्रै भाका नाघेको ऋण रहेको सहकारीले जनाएको छ । ‘समुदायमा आधारित लगानी गरेका छौँ । बचत समूहहरू छन् गाउँमा । २ हजार त समूहमै छन् । ३ लाखसम्म यस्ता समूहमा लगानी गरिएको छ,’ ढकालले भने, ‘हामीले सहकारीको मोडलमै चलाएका छौँ । एक जनाले ऋण लिँदा ४ जना ग्यारेण्टी बस्छन् । सदस्य केन्द्रित लगानी गरेका छौँ ।’
रोयल सहकारीमा कारोबारी सदस्यहरू छैनन् । त्यस्तालाई सहकारीमा नभित्र्याएको ढकाल बताउँछन् । सञ्चालक सदस्य र सेयर सदस्यले पाउने सुविधामा समेत कुनै भिन्नता नरहेको उनले सुनाए ।
केही वर्षभित्रै बचत र ऋण लगानीको ब्याजदर समान बनाउने लक्ष्यका साथ काम गरिरहेको सहकारीका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङले जानकारी दिए ।
‘अहिले हेर्नुभयो भने मुद्दतीकै ब्याज ७ प्रतिशत छ । अबको ६ देखि ७ वर्षमा डिपोजिट जतिमा लिन्छौँ, लोन त्यतिमै प्रवाह गर्ने योजना छ । हामीसँग जगेडा कोष प्रशस्त छ,’ गुरुङले भने, ‘मोटाउनु र सुन्निनु फरक हो । हामी मोटाएका हौँ । पोखरा रोयलले यो बेलामा पनि ऋण लगानी रोकेको छैन । सदस्यलाई मेरो संस्था हो भन्ने महसुस गराउनुपर्छ । त्यही गरेका छौँ । परिवारजस्तो गरी चलेको छ ।’
आर्थिक वर्ष २०८०/०८१ सम्म यो सहकारीको बचत १ अर्ब ९१ करोड छ भने १ अर्ब ६७ करोड लगानी गरेको छ । २१ करोड १७ लाख जगेडा कोषमा राखिएको सहकारीले जनाएको छ । कास्कीसहित तनहुँ, स्याङ्जा, लमजुङ र पर्वत गरी ९ हजार ३५६ जना यसका सेयर सदस्य छन् । सहकारीले दुलेगौंडा, भण्डारढीक र मोहोरियाबाट सेवा केन्द्र चलाएको छ ।