नयाँ दिल्लीमा नेपाल-भारत व्यापार सम्झौताको विषयमा छलफल
०७ माघ, काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले शनिबार नयाँ दिल्लीमा भारत सरकारका वाणिज्य विभागका सहसचिव विमल आनन्द र इन्जिनियरिङ एक्सपोर्ट प्रमोशन काउन्सिल अफ इण्डीयाका (इइपीसी) राष्ट्रिय अध्यक्ष पंकज चड्डासँग छलफल गरेको छ ।
नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको नाडा प्रतिनिधि मण्डलले नेपाल र भारतको व्यापार सम्झौतालाई थप विस्तार र प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने बारेमा छलफल गरेको हो ।
द्विपक्षीय आयात निर्यातलाई कसरी सुदृढ बनाउन सकिन्छ भन्ने विषयमा पहिलो चरणको छलफल सम्पन्न भएको हो । अर्को चरणको छलफलको लागि दुबै पक्षले अर्को मिति तोकेर भारतको इइपीसीलाई नेपालमा निमन्त्रण गरिने नाडाले जनाएको छ । उक्त छलफलमा अटोमोबाइल कम्पोनेण्ट, अटोमोवाइल स्पेयर पार्टस र विद्युतीय सवारीसाधनहरूका विषयमा छलफल गरिने छ ।
यही जनवरी १७ देखि २१ सम्म भारतको नयाँ दिल्लीमा आयोजना भइरहेको भारत मोबिलिटीअन्तर्गत भईरहेको अटो प्रदर्शनीको सन्दर्भमा नाडा केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरुको प्रतिनिधिमण्डल भारत भ्रमणमा रहेको छ ।
उक्त छलफलमा इन्जिनियरिङ एक्सपोर्ट प्रमोशन काउन्सिल अफ इण्डीयाका (इइपिसी) तर्फबाट पूर्व अध्यक्ष अरुण गारोडिया, सह निर्देशक पल्लवी साह, कार्यकारी निर्देशक तथा सचिव अधिप मित्रा र निर्देशक नीशिकान्त जुम्दा समेतको उपस्थिति रहेको थियो ।
त्यसैगरी नाडाकोतर्फबाट निवर्तमान अध्यक्ष डा। ध्रुव थापा, बरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, संस्थागत उपाध्यक्ष पुष्कर ओझा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल र सहकोषाध्यक्ष पंकज अग्रवाल समेतको उपस्थिति रहेको थियो ।