विद्युतिय गाडि आयात वृद्धि घट्यो, मुख्य कारण भन्सारमा लगाइएको अन्तः शुल्क
०९ माघ, काठमाडौं । विद्युतिय गाडिको आयातमा भइरहेको वृद्धि सुस्त देखिएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ६ महिना (साउनदेखि पुस मसान्तसम्म) १३ अर्ब १० करोड ८० लाख ६९ हजार रुपैयाँका इलेक्ट्रीक गाडि (ईभी) आयात गरिएको छ ।
चालु आर्थिक वर्षमा विद्युतीय कार, जीप तथा भ्यान गरी कूल पाँच हजार ४८० ईभी गाडि आयात गरिएको हो । जुन गत आर्थिक वर्षको तुलनामा ६७३ वटाले मात्रै बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा १२ अर्ब ७३ करोड २७ लाख रुपैयाँका पाँच हजार १०७ वटा ईभी गाडि आयात गरिएको थियो ।
यद्यपी, गत वर्षहरुमा विद्युतिय गाडिको आयात तीव्र रुपमा बढेको थियो । गत आर्थिक वर्षको पुस महिनासम्ममा १२ अर्ब ६४ करोड ५ लाख ७३ हजार रुपैयाँ बराबरको ५ हजार ९४ वटा इलेक्ट्रीक कार, जीप र भ्यान आयात भएको थियो । यो अघिल्लो आवको सोही अवधिको तुलनामा करिब दुई गुणाले धेरै हो ।
अघिल्लो आर्थिक वर्षको पुस मसान्तसम्ममा ४ अर्ब ९२ करोड ९१ लाख ४५ हजार मूल्य बराबरको १ हजार ७४९ वटा मात्र विद्युतीय गाडी आयात भएको थियो ।
सरकारले विद्यतिय गाडिमा कर बढाएसँगै यस्ता भेइकलहरुको आयातमा कमी आएको जानकारहरु बताउँछन् ।
पूर्व अर्थमन्त्री डा.प्रकाशशरण महतले आफ्नो कार्यकालमा विद्युतिय सवारी साधनको आयात बढाउन आर्थिक वर्ष २०८०\८१ को बजेटमार्फत् १०० किलोवाटभन्दा माथिको सवारी साधनमा भन्सार दर र अन्तःशुल्कमा सहुलियत दिएका थिए । उक्त बजेटमा महतले विद्युतीय सवारी साधनको आयातलाई प्रोत्साहन गर्न १०० किलोवाटभन्दा बढी क्षमताका विद्युतीय सवारी साधनको आयातमा भन्सार दर र अन्तःशुल्क घटाएका थिए ।
महत लगत्तै अर्थमन्त्री बनेका वर्षमान पुनले भने विद्युतीय सवारी साधनको आयातमा महतले गरेको व्यवस्थालाई उल्ट्याएका थिए । पुर्वअर्थमन्त्री पुनले विद्युतीय सवारी साधनको आयातमा किलोवाट अनुसार कर बढाएर ५० किलोवाटसम्मका गाडिमा १५ प्रतिशत भन्सार र ५ प्रतिशत अन्तःशुल्क लगाएका थिए । अघिल्लो आवमा उक्त क्षमताको गाडिको भन्सार दर १० प्रतिशत मात्रै थियो भने अन्तःशुल्क थिएन । यो क्षमताका विद्युतीय सवारीमा ५ प्रतिशत भन्सार वृद्धि र ५ प्रतिशत अन्तशुल्क लगाउँदा १० प्रतिशत कर बढाइएको थियो ।
त्यसैगरीे ५१ देखि १०० किलोवाटसम्मका विद्युतीय सवारीको आयातमा थप ५\५ प्रतिशत भन्सार र अन्तःशुल्क बढाइएको थियो । महतको कार्यकालमा यो रेञ्जका विद्युतीय सवारी आयातमा १५ प्रतिशत भन्सार र १० प्रतिशत अन्तशुल्क रहेकोमा पुनले गरेको व्यवस्था पछि भन्सार २० प्रतिशत र अन्तशुल्क १५ प्रतिशत कायम भएको थियो । यो रेञ्जका सवारीमा पनि कुल १० प्रतिशतले कर वृद्धि भएको थियो ।
१०१ देखि २०० किलोवाटसम्म ३० प्रतिशत भन्सार र २० प्रतिशत अन्तःशुल्क लगाइएको छ । यसअघि भन्सार २० प्रतिशत र अन्तःशुल्क २० प्रतिशत थियो । यो रेञ्जका विद्युतीय सवारीको आयातमा भन्सार १० प्रतिशतले बढाइएको हो ।
२०१ देखि ३०० किलोवाटमा २० प्रतिशत भन्सार बढाएको सरकारले १० प्रतिशत अन्तःशुल्क घटाएको थियो । ३०० भन्दा बढी क्षमताका विद्युतीय सवारीको आयातमा पनि २० प्रतिशत भन्सार बढेको छ भने १० प्रतिशत अन्तःशुल्क घटेको छ ।
समग्रमा विद्युतीय सवारी साधनको आयातमा १० प्रतिशत कर बढेको छ । ईभीको कर बढ्दै जाँदा यसको आयातका कमी आएको जानकारहरुको बुझाई छ ।
चालु आर्थिक वर्षमा ईभी गाडिको आयातबाट सरकारले आठ अर्ब १६ करोड २३ लाख ९२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । गत आर्थिक वर्ष सरकारले त्यसबाट पाँच अर्ब ६७ करोड ३५ लाख ३६ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।
चालु आर्थिक वर्षमा सरकारले प्राप्त गरेको राजस्व करिब साढे दुई अर्ब रुपैयाँले बढेको छ । सरकारले बजेटमार्फत चालु आर्थिक वर्षमा ईभीमा करको दर बढाएका कारण गाडिको आयात सामान्य बढेता पनि राजस्व संकलनमा भने भारी वृद्धि भएको हो ।
चालु आर्थिक वर्षमा सबैभन्दा धेरै ५१ देखि १०० किलोवाट मोटर क्षमताका ईभी गाडि आयात भएका छन् । यस्तै, १०० किलोवाट क्षमताका तीन हजार १९१ ईभी भित्र्याइएको छ भने ५० किलोवाट मोटर क्षमताका एक हजार ७२५ ईभी आयात गरिएको छ ।
यता, पुस मसान्तसम्म २०० किलोवाट मोटर क्षमताका ५५३ र त्यसभन्दा माथिका ११ ईभी आयात गरिएको विभागको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा १२ अर्ब ७३ करोड २७ लाख रुपैयाँका पाँच हजार १०७ ईभी आयात गरिएको थियो ।
गत आव सोही अवधिमा १२ अर्ब ७३ करोड ३२ लाख बराबर ईभी आयात भएको थियो । गत आर्थिक वर्षको ६ महिनामा ५० किलोवाट भन्दा मुनीका २ हजार ५६ वटा चारपांग्रे सवारी साधान नेपाल भित्रिएका थिए ।
यस्तै, ५१ किलोवाटदेखि १०० किलोवाटसम्ममा ८ अर्ब ४५ करोड ५४ लाख ५४ हजार रुपैयाँ बराबरको २ हजार ९७० वटा चारपांग्रे विद्युतीय सवारीको आयात भएको थियो ।
यता, १०१ किलोवाटदेखि २०० सम्मका ६ करोड ५४ लाख ४० हजार रुपैयाँ बराबरको १७ वटा, २०१ देखि २०० किलोवाटसम्मका ३४ करोड ९७ लाख १० हजार रुपैयाँ बराबरको ६८ वटा सवारी साधन नेपाल भित्रिएका थिए ।
ईभीको आयात गत वर्षभन्दा सामान्य बढे पनि पेट्रोलियम इन्जिन गाडी आयात दर यो वर्ष धेरै बढेको पाइएको छ । चालु आवको ६ महिनामा ३४ अर्ब ८७ करोड रुपैयाँ बराबरका पेट्रोलियम इन्जिन गाडी आयात भएका छन् । गत आव सोही अवधिमा भने पेट्रोलियम इन्जिन भएका गाडी २३ अर्ब ५९ करोडभन्दा बढी हो ।
कुन देशबाट कति आए विद्युतिय सवारी ?
नेपालले छिमेकी मुलुक चीन, भारतका साथै कोरिया, जर्मनी, अमेरिका र इन्डोनेसिया लगायतका मुलुकहरूबाट विद्युतीय गाडि आयात गर्ने गरेको छ ।
पछिल्लो छ महिनामा आयात भएका ईभीमध्ये सबैभन्दा धेरै चीनबाट आएका छन् । कूल १३ अर्ब १० करोड ८० लाख ६९ हजार रुपैयाँका पाँच हजार ४८० ईभी गाडि आयात गरिएकोमा चीनबाट मात्रै १० अर्ब ६४ करोड ७८ लाख ७७ हजार रुपैयाँ बराबरका ४ हजार २०५ वटा गाडि आयात भएको छ ।
यस्तै, भारतबाट २ अर्ब २९ करोड ८१ लाख ६५ हजार रुपैयाँ बराबरका १ हजार २५० वटा गाडि आयात भएको विभागले जनाएको छ । यता, जर्मनीबाट १७ वटा गाडि आयातमा ११ करोड ५७ लाख ८३ हजार रुपैयाँ बाहिरिएको छ भने अमेरिकाबाट ४ वटा ईभी आयातमा १ करोड ६६ लाख ८ हजार गाडि आयात भएको छ ।