Banking 

नाडा अटो सो आजदेखिः यी सात बैंकबीच सस्तो ब्याजदर प्रतिस्पर्धा

११ भदौ, काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अटोमोबाइल प्रदर्शनी टाटा ईभी प्रस्तुत नाडा अटो सो २०२४ आज(भदौ ११) देखि काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको छ ।

६ दिन अर्थात् भदौ १६ गतेसम्म चल्ने नाडा अटो सोमा नाडाका अनुसार प्रदर्शनीमा ७५ हजार भन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ। प्रदर्शन अवलोकनका लागि खल्ती एपबाट २० प्रतिशत छुटमा टिकटको व्यवस्था गरिएको छ।

यस वर्ष नाडाले विद्युतीय सवारीसाधनमा जोड दिएको छ। पछिल्लो समय विद्युतीय सवारी साधन माग बढ्दो छ। नाडा अटो सोमा झन्डै दर्जन नयाँ विद्युतीय सवारी ब्रान्डले सहभागिता जनाउँदै छन्। नयाँ ब्रान्ड र यसअघि नै सवारीसाधन बिक्री गरिरहेका ब्रान्डसमेतको गर्दा झन्डै २ दर्जन नयाँ विद्युतीय सवारी मोडल नाडा अटो सोमा प्रदर्शनीका लागि राखिने एसोसोसिएसनले जनाएको छ।

अटो सोमार्फत सीजी मोटर्सले रेडारा, एक्सपेङ र अवतार ब्रान्ड प्रदर्शनीमा राख्दै छ। यी तीनवटै ब्रान्ड नेपाली बजारमा पहिलोपटक प्रवेश गर्न लागेका हुन्।

नाडा अटो सोमा सीजी मोटर्सले मात्रै ८ वटा ब्रान्डको सोकेस गर्दै छ। यस्तै अटो सोमा सांग्रिला मोटर्सले लिप मोटर्सको नयाँ ‘मस्कुलिन’ गाडी पनि राखिँदै छ।

मेलामा अटो व्यवसायीसँगै बैंक तथा वित्तीय संस्थालाई पनि व्यवसाय विस्तारको अवसर प्राप्त भएको छ । सवारीसाधन कर्जा विस्तार बढाउन बैंक तथा वित्तीय संस्थाहरुले मेलामा ग्राहकलाई सहुलियत र सस्तो ब्याजदरमा ‘अटो लोन स्किम’ सार्वजनिक गर्दै स्टल नै राखेका हुन्छन्।

यस पटक ६ वाणिज्य बैंक र १ विकास बैंकले नाडा अटो शोमा सहभागिता जनाउने भएका छन्। यी बैंकहरुले चारपांग्रे विद्युतीय सवारी कर्जालाई प्राथमिकतामा राख्दै नाडा अटो शोमा उपस्थिति जनाउने भएका हुन्।

सामान्यतयभन्दा सहज र सस्तो ब्याजदर कर्जा स्किम ल्याउँदै हिमालयन, ग्लोबल आइएमई, नबिल, सानिमा, माछापुच्छ्र्रे, लक्ष्मी सनराइज र महालक्ष्मी विकास बैंकले यस पटकको नाडा अटो मेलामा स्टल राख्ने छन् ।

बैंक तथा वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकको प्रावधानमा रहेर विद्युतीय सवारीसाधनलाई मूल्यको ८० प्रतिशतसम्म र पेट्रोलियम सवारीसाधनलाई ५० प्रतिशतसम्म कर्जा दिन पाउँछन्। नियामकीय प्रावधानमा रहेर उल्लिखित बैंकहरुले ७.९९ प्रतिशतदेखि साढे १० प्रतिशतसम्म ८ वर्षसम्मको सवारी कर्जा दिनेछन्।

नाडा अटो शोमा सहभागी बैंकहरुले सवारी कर्जामा सस्तो ब्याजदर, सहज प्रकृया, प्रिमियम र शेवाशुल्कमा छुटसहितका स्किम दिनेछन्। साथै, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, भिसा तथा क्रेडिट कार्डलगायत बैंकका अन्य डिजिटल सेवामा निःशुल्क गर्नेछन्।

ग्लोबल आइएमई बैंक

मेलामा सबैभन्दा सस्तोमा सवारी कर्जा ग्लोबलले दिने भएको छ। बैंकले हालसम्म १२.४९ प्रतिशतसम्म ब्याजदरमा सवारी कर्जा दिइरहेको छ। तर, बैंकले नाडा मेलामा भने न्यूनतम ७.९९ प्रतिशतदेखि अधिकतम ९.४९ प्रतिशत ब्याजदरमै सवारी कर्जा दिने भएको छ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले नाडा अटाे शाेका लागि विशेष स्किम ल्याएकाे छ। बैंकले नाडा शाेमा सहभागी भएर चारपांग्रे सवारी खरिद गर्नेका लागि परिवर्तित ब्याजदरमा ९ प्रतिशत ब्याजमै सवारी कर्जा उपलब्ध गराउनेछ। बैंकले बेसरेटमा १ प्रतिशत मात्रै प्रिमियम थप गरेर ब्याजदर निर्धारण गरेको हो। हाल बैंकको बेसरेट ८ प्रतिशत छ।

यस्तो कर्जा बैंकले विद्युतीय सवारीमा मूल्यको ७० प्रतिशतसम्म ६ वर्षका लागि र इन्धन सवारीमा मूल्यको ५० प्रतिशत ८ वर्षका लागि दिनेछ। सामान्यतया ०.७५ प्रतिशतसम्म सेवाशुल्क लिइरहेको बैंकले नाडा अटो शाेमा भने कर्जा सेवाशुल्क ०.२५ प्रतिशत मात्रै दिने उल्लेख गरेको छ।

नबिल बैंक

नबिल बैंकले नाडा अटो मेलाका लागि विशेष स्किम ल्याएको छ। बैंकले नाडा मेलामा सवारी खरिद गर्ने ग्राहकका लागि ५ वर्षसम्मका लागि ८.२५ प्रतिशत र ७ वर्षसम्मका लागि ८.४९ प्रतिशत ब्याजदर तोकेको छ।

यस्तो कर्जा स्किम बैंकले विद्युतीय र इन्धन दुवैका लागि ल्याएको हो। स्थिर ब्याजदरका लागि मात्रै कर्जा स्किम ल्याएको बैंकले सेवाशुल्क ०.५ प्रतिशतसम्म लिने जनाएको छ।

लक्ष्मी सनराइज बैंक

हालसम्म सवारी साधान कर्जामा न्यूनतम ८.९९ प्रतिशतदेखि अधिकतम ११.७० प्रतिशतसम्म ब्याजदर लिइरहेको लक्ष्मी सनराइज बैंकले १४औं नाडामा भने विशेष छुट दिने भएको छ। बैंकले नाडा मेलामा विद्युतीय सवारी खरिद गर्न कर्जा लिनेलाई ८.९९ प्रतिशतमै कर्जा उपलब्ध गराउनेछ। बैंकले ०.५ प्रतिशत सेवाशुल्क लिएर यस्तो कर्जा ७ वर्षका लागि स्थिर ब्याजदरमा उपलब्ध गराउने भएको हो।

बैंकले इन्धन सवारीमा बेसरेटमा १ प्रतिशत प्रिमियम थप गरेर ब्याजदर निर्धारण गरेको छ। हाल बैंकको बेसरेट ८.२५ प्रतिशत रहेको हुँदा परिवर्तित ब्याजदरमा इन्धन सवारीसाधन खरिदका लागि ९.२५ प्रतिशतसम्म कर्जा उपलब्ध गराउनेछ।

हिमालयन बैंक

सवारीसाधन खरिद गर्न हालसम्म हिमालयन बैंकले न्यूनतम ९.३६ प्रतिशतदेखि अधिकतम १२.८६ प्रतिशतसम्म ब्याजदर लिइरहेको छ। बैंकले १४औं नाडा अटो मेलाका लागि परिवर्तित ब्याजदरमा ९.५१ प्रतिशतसम्म कर्जा उपलब्ध गराउनेछ।

बैंकले बेसरेटमा विद्युतीय सवारीका लागि ०.५३ प्रतिशत प्रिमियम जोडेर ९.३६ प्रतिशतमा र इन्धन सवारीका लागि ०.६५ प्रतिशत प्रिमियम जोडेर ९.५१ प्रतिशत ब्याजदरमा कर्जा दिने भएको हो। बैंकले सेवाशुल्कबापत भने ०.५ प्रतिशत लिने उल्लेख गरेको छ।

सानिमा बैंक

सानिमा बैंकले नाडा मेलामा आउने ग्राहकलाई ८.४९ प्रतिशतदेखि १०.५५ प्रतिशत ब्याजदरमै सवारी कर्जा उपलब्ध गराउने भएकाे छ। बैंकले ७ वर्षका लागि स्थिर ब्याजदरमा ८.४९ प्रतिशतमै सवारी कर्जा दिने भएको हो।

बैंकले परिवर्तित ब्याजदरमा ८.५५ प्रतिशत रहेको बेसरेटमा २ प्रतिशत प्रिमियम जोडेर १०.५५ प्रतिशतमै सवारी कर्जा उपलब्ध गराउनेछ। नाडा अटो मेला लक्षित गरेर बैंकले शेवाशुल्कसमेत ०.२५ प्रतिशत मात्रै लिनेछ। बैंकले चारपांग्रे सवारीसाधनका लागि मात्रै अटो लोन दिने भएकाे हाे।

महालक्ष्मी विकास बैंक

महालक्ष्मी विकास बैंकले स्टल राखे पनि व्याजदरका बारेमा भने उल्लेख गरेको छैन ।

Related posts

Leave a Comment