२८.३० मेगावाट क्षमताको मध्यचमेलियाको शिलन्यास, २ वर्षमा निर्माण पुरा हुने
११ फागुन, काठमाडाैं । दार्चुलाको मार्मा गाउँपालिका २ मा मध्यचमेलिया जलविद्युत आयोजनाको शिलन्यास भएको छ । प्रवद्र्धक दार्चुला पावर लिमिटेडले पाँच अर्ब ६६ करोडको लागतमा निर्माण गर्न लागेको २८.३० मेगावाट क्षमताको उक्त जलविद्युत आयोजनाको कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूले शिलान्यास गरेका हुन् ।
गत वर्ष निर्माण सम्पन्न भएको अपर चमेलिया जलविद्युत आयोजनाको विद्युतगृहभन्दा आधा किलोमिटर तल मध्यचमेलियाको बाँध निर्माण हुने दार्चुला पावर लिमिटेडका सञ्चालक सञ्जिव न्यौपानेले बताए । अपि पावर कम्पनीको सहायक कम्पनी दार्चुला पावर लिमिटेडले निर्माण गर्ने मध्यचमेलियाको निर्माण २ वर्षमा पुरा गर्ने लक्ष्य लिइएको न्यौपानेले जानकारी दिए । उनका अनुसार अपर चमेलिया निर्धारित समयभन्दा पहिल्यै सम्पन्न भएको नजिरका आधारमा यो आयोजना पनि निर्धारित समयभित्र निर्माण पुरा गर्ने लक्ष्य लिइएको हो ।
मार्मा गाउँपालिका २ स्थित लाम्बगडमा बाँधस्थल रहने आयोजनाको साढे सात किलोमिटर तल मार्मा ३, नलबगडमा विद्युतगृह निर्माण हुने न्यौपानेले बताए । बाँधस्थलबाट ३.३३ डायमिटरको माइल्ड स्टिल पाइपलाइनबाट विद्युतगृहसम्म पानी लगिने उनको भनाई छ ।
आयोजनाबाट उत्पादित बिजुली नौ किलोमिटर तल बलाच सबस्टेसनमा जोडिनेछ भने आयोजनाबाट वार्षिक १८५.६२ गिगावाट प्रतिघण्टा विद्युत उत्पादन हुनेछ ।
न्यौपानेका अनुसार ६ खर्ब २३ करोड रुपैयाँको लागतमा निर्माण हुने मध्यचमेलियामा नेपाल बैंक लिमिटेड र नबिल बैंकको ७५ प्रतिशत ऋण लगानी रहेको छ भने २५ प्रतिशत दार्चुला पावर लिमिटेडको स्वपुँजी रहेको छ ।
मध्यचमेलियासँगै दार्चुलामा थप आयोजनामा लगानी गर्न आफुहरु इच्छुक रहेको भन्दै अपि पावर कम्पनीका सञ्चालक गुरु प्रसाद न्यौपानेले स्थानीयहरूको साथ खाजेका थिए । दार्चुलामा चौथो आयोजना निर्माण गरिरहेको बताउँदै उनले स्थानीयको सहयोग पाएको खण्डमा तप आयोजनाहरु अघि बढाउने बताए । दार्चुलामा उत्पादित बिजुली भारतमा बेच्न दार्चुलाबाटै प्रसारणलाइन बनाउन न्यौपानेले सरकारलाई अनुरोध गरे ।