आज फेरि २० अर्ब तरलता खिच्दै केन्द्रीय बैंक
२७ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबार २० अर्ब रुपैयाँ खिच्न लागेको छ । राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण मार्फत २१ दिनका लागि उक्त रकम खिच्न लागेको जनाएको छ ।
राष्ट्र बैंकले नियमित रूपमा आइतबार र बुधबार बजारबाट पैसा खिच्दै आएको छ । सोही क्रममा आज बुधबार पनि २० अर्ब खिच्न लागेको हो ।
राष्ट्र बैंकले जारी गरेको सूचनामा निक्षेप संकलनमा रकम राख्न चाहने बैंक तथा वित्तीय संस्थाले अनलाइन बोलकबोल गर्न सक्ने उल्लेख छ ।
निक्षेप संकलनमा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्ने छ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । केन्द्रीय बैंकका अनुसार यसरी खरिद गरेको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने छ ।