Agriculture 

वर्णशङ्कर बिउ खोज्दा रैथाने लोप

०६ बैशाख, काठमाडौँ । विक्रम संवत् २०७२ को भूकम्पअघि भान्साकोठाको निदालभरि स्थानीय जातको काँक्रोको बिउ हुने मन्डनदेउपुर–९, काभ्रेपलाञ्चोकका राजनप्रसाद सापकोटा अहिले काँक्रो रोप्नुपर्ने बेला भएपछि बजार जानुहुन्छ । एउटा काँक्रो काट्दा गाउँभरि बास्ना फैलने, तीन किलोसम्मको फल्ने काँक्रो अहिले लोपै भएको उहाँको गुनासो छ ।

परम्परागत रूपमा आफ्नै घरमा धेरै किसिमका बिउ आफैंँले जोगाएर राख्ने र नपुग बिउ छिमेकी, आफन्त र साथीभाइकहाँबाट साटासाट गरेर लगाउने चलन हराएको सापकोटाको भनाइ छ । सहरवरपर तथा सुगम क्षेत्रका कृषकले घरमा बिउ राख्नुको सट्टा बजारबाट खरिद गरेर लगाउने चलन बढेपछि बिउ राख्ने चलन हराएको सापकोटा बताउनुहुन्छ ।

उन्नत जात तथा वर्णशङ्कर (हाइब्रिड) बिउ र प्रविधि विस्तारसँगै घरमा जोगाएर राख्ने परम्परागत बिउको संरक्षणै सङ्कटमा परेको उहाँले उल्लेख गर्नुभयो । उहाँ मात्रै होइन, बिउ हराएकोमा दाङ तुलसीपुरका शान्ता शर्मालाई पनि पिरलो परेको छ । कालो धानको बिउ नै पाउन छाडेको र अबको पुस्ताले त्यसको अनुभव गर्न नपाउने उहाँको चिन्ता छ ।

गाउँबाट मानिस क्रमशः सहरमा बसाइँ सर्न थालेपछि रैथाने जातका बिउ क्रमशः लोप हुन सुरु भएको उहाँको अनुभव छ । सिमेन्टका घर बन्न थालेपछि पनि बिउ जोगाउन कम भएको उहाँले बताउनुभयो । वरिष्ठ कृषि प्रसार अधिकृत कुलप्रसाद दवाडीले उन्नत जात र हाइब्रिड बिउको उपलब्धताले उत्पादन वृद्धिमा टेवा पुगे पनि नेपालको हकमा केही अपवादबाहेक बजारमा उपलब्ध हाइब्रिड बिउ आयातीत भएकाले रैथाने जात लोप हुने अवस्थामा पुगेको बताउनुभयो । बजारबाट बिउ खरिद गरेर लगाउने बढ्दो चलनले एकातिर कृषक बिउमा परनिर्भर बन्दै गइरहेका छन् भने अर्कोतिर रैथाने बिउका साथै बिउ छनोट र भण्डारण गर्ने परम्परागत ज्ञान, सिप र प्रविधि पनि हराएर गइरहेको उहाँले बताउनुभयो ।

नेपाल सरकारको तथ्याङ्कले पनि बर्सेनि बिउको आयात बढिरहेको र कृषकको खेतबारीबाट रैथाने बिउ क्रमशः लोप हुँदै गएको देखाउँछ । यो व्रmम नरोकिए भविष्यमा सहरी क्षेत्रमा मात्र होइन, गाउँघरका कृषकको भान्सामा पनि के पाक्छ भन्ने कुरा बजारले निर्धारण गर्ने उहाँले बताउनुभयो । सरकारको तथ्याङ्कमा एक वर्षमा दुई अर्ब १८ करोड रुपियाँको बिउ आयात भएको देखिएको छ । बिउबिजन गुणस्तर नियन्त्रण केन्द्रले एक वर्षमा सो परिणाममा बिउ आयात हुने उल्लेख गरेको हो ।

चितवनमा मनसुली धान विस्तार भएपछि कृषकले ‘दुधराज’ र अछामे मसिनो चामलको भात र आँगापझुत्ते धानको चिउरा लोपै हुने अवस्थामा पुगेको कृषि प्रसार अधिकृत कृष्ण धितालले बताउनुभयो ।

कञ्चनपुरका राना थारूहरूले भात खाएर चुठिसकेपछि पनि हातमा बास्ना आइरहने रहिमुनमा धान अहिले सम्झनामा मात्रै छ । नेपालमा यस्ता रैथाने बिउको यकिन तथ्याङ्कसमेत कुनै निकायसँग छैन । न त सरकारसँग त्यसको अभिलेख छ, न त कृषकसँग बिउ । कुनै पनि रैथाने बिउ कृषि अनुसन्धान केन्द्रमा विकास गरिएका नभएर पुर्खाले हजारौँ वर्षसम्म गरेको निरन्तर कृषिकर्मको प्रतिफल भएको उहाँले स्पष्ट पार्नुभयो । नेपालको विविधतायुक्त हावापानी तथा भौगोलिक बनावट, धार्मिक, सांस्कृतिक तथा जातीय विविधता र कृषकले पुस्तौँदेखि परम्परागत विधि तथा तौरतरिका अपनाई गुणस्तरीय बिउ तथा बिरुवाको छनोट, आपसमा बिउ तथा बिरुवा साटासाट र विस्तार गर्दै खेती गरिने प्रचलनले गर्दा हजाराँैं जातका रैथाने बिउ विकास भएका थिए । तर त्यसको संरक्षणमा कुनै पनि निकायले चासो दिन नसक्दा कृषकसँग भएको अमूल्य सम्पत्ति मेटिएको छ ।

कृषिवन स्रोत केन्द्रका किरण खरेलले पहिलेका कृषक धान काट्नु र कोदो टिप्नुभन्दा पहिला राम्रोसँग पाकेका, पुष्ट दाना भएका र रोग नलागेका बाला छनोट गरेर टिप्ने अनि लामो र सर्लक्क परेको काँक्रो र ठुलो फर्सी बिउका लागि छुट्याउने गरे पनि हाइब्रिड बिउ लगाउने चलन बढेपछि बिउ छनोट र भण्डारणसम्बन्धी ज्ञान व्रmमशः हराउँदै गएको बताउनुभयो ।

उहाँले कृषि अनुसन्धान र विकास, खाद्य सुरक्षा, पोषण विविधता र पर्यावरणीय हिसाबले रैथाने जातको विशेष हुने उहाँले स्पष्ट पार्नुभयो । रैथाने जात विभिन्न किसिमका रोग तथा कीरा सहने, सुक्खा वा खडेरी तथा बढी पानी सहने, खान मिठो तथा स्वादिलो मात्रै नभएर कतियप जातमा औषधीय गुण हुने गरेको उहाँले उल्लेख गर्नुभयो ।

धानमा लामो समयसम्म अध्ययन गर्नुभएका कृषि प्रसार अधिकृत धितालले बारा तथा रौतहट जिल्लामा पानी बढी जम्ने खेतमा हुने भठी, सिलहट र बालुवा बढी भएको खेतमा फल्ने र दुध जस्तै सेतो भात हुने दुधिसारो जात हराएको बताउनुभयो ।

छठ पर्वमा नभई नहुने, बाला बाहिर ननिस्किकनै पाक्ने साठी जातको धान अहिले भए पनि संरक्षण आवश्यकता रहेको उहाँ बताउनुहुन्छ । चोटपटक, दुर्घटना वा अरू कारणले हातखुट्टा मर्किएको अवस्थामा अनदी चामलको लट्टे बनाएर खाने चलन गण्डकी क्षेत्रमा रहे पनि मासिन थालेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को परिच्छेद ३ मा ‘गाउँपालिका तथा नगरपालिकाको काम, कर्तव्य र अधिकार’ अन्तर्गत एकल अधिकारभित्र ‘कृषि वातावरण संरक्षण तथा जैविक विविधताको संरक्षण र प्रवर्धन’ र प्रदेश तथा सङ्घसँगको समन्वयमा जैविक विविधता अभिलेखन तथा रैथाने प्रजाति संरक्षण र प्रवर्धन गर्ने कुरा समावेश गरिएको छ । यसबाट के स्पष्ट छ भने पालिका क्षेत्रमा भएका रैथाने बिउ पहिचान, अभिलेखीकरण, संरक्षण र प्रवर्धन कार्य सम्बन्धित पालिकाले नै अगुवाइ गर्नुपर्ने भए पनि कसैले गरेको देखिँदैन ।

Related posts

Leave a Comment