Main Headlines Share Market 

कारोबार बढाउन दिएको असिमित कोल्याट्रलको नकारात्मक प्रभाव शेयर बजारमा, उधारो सल्टाउन खोज्दा उल्टै घट्यो

२६ भदाै, काठमाडाैं । ब्रोकरले कमिशनको चक्करमा लगानीकर्तालाई असिमित कोल्याट्रल दिदा अनियन्त्रित हिसावले बढेको बजारमा अहिले उल्टो प्रभाव परेको छ । एक महिना अगाडीसम्म दैनिक २५ देखि ३० अर्बको कारोबार हुने दोस्रो बजारमा अहिले मुस्किलले ५/६ अर्ब मात्रै कारोबार हुन थालेको छ ।  

ब्रोकर सँगको उधारो कारोबार सल्टाउन खोज्दा बजारमा राम्रै सेलिङ प्रेसर आयो । जतिवेला शेयर बजार आक्रामक रुपमा बढिरहेको थियो त्यतिवेला दिपेन्द्र अग्रवालको कुरा सुन्नेहरु, क्लब हाउसमा तथा सामाजिक सञ्जालमा यो कम्पनी बढ्छ है भनेको सुनेको भरमा खरिद गर्ने परिपाटी थियो । किन्यो कि बढिहाल्ने अवस्थामा ब्रोकरले पनि लगानीकर्तालाई मागेको लिमिट दिदै गए । बजारमा यतिसम्मका लगानीकर्ता थिए जो १० लाख लिएर आफ्नो पोर्टफेलियो ५० लाख पुर्याउन सफल भइसकेका थिए । यस्ता लगानीकर्ताले ब्रोकरहरु सँग पनि ठुलो वार्गेनिङ गर्ने गर्थे । ब्रोकरले पनि लगानीकर्ताकै रिस्कमा मागेको क्लोल्याट्रल दिदै गए । मलाई यति कोल्याट्रल दिने भए देउ होइन भने म फलानो ब्रोकरकोमा जान्छु भनेर वार्गेनिङ गरे पछि उनिहरुले बाध्य भएर लिमिट दिएका धेरै उदाहरण छन् । अहिले त्यहि कारोबार लगानीकर्ता र ब्रोकरका लागि घाडो भएको छ । 

बजार घट्ने संकेत सँगै ब्रोकरले पनि लिमिट दिन बन्द गरिदिए । कारोबार रकम खहरे खोला झै सुक्यो । यस क्रममा आफ्नै बुताले लगानी गर्नेहरुले प्रोफिट बुक गर्न थाल्दा कारोबार झन् ड्राइ हुँदै गयो । अलि कति मात्रै बजार सकारात्मक हुन खोज्यो कि सेलिङ प्रेसर आउने गरेको छ । 

दैनिक करोडौको कारोबार गर्नेहरुले  अहिले कारोबार नै नगरी बसेका छन् । हिजोका दिनमा ब्रोकरले कारोबार रकम बढाउन लगानीकर्ताहरुलाई असिमित लिमिट दिएका थिए । जव बजार नकारात्मक हुन थाल्यो त्यस पछि ब्रोकरले कारोबार सल्टाउन लगानीकर्ताको कोल्याट्रल नै नकारत्मक बनाइदिए । यस पछि २५ दिनदेखि लगातार बजार घटिरहेको छ । यस क्रममा अधिकाम्स लगानीकर्ताले आफ्नो क्रेडिट व्यवस्थापन गरिसकेको एक ब्रोकरले जानकारी दिए । यि सबै कारणले गर्दा बजारमा आक्रामक बाइङ छैन । 

बुधबार नेप्से सूचक २२.७३ अंकले घट्दा कारोबार रकम ६ अर्ब ८५ करोडको भएको छ । लगानीकर्ताले आजदेखि बजार फर्किने अनुमान गरेका थिए । प्राविधिक विश्लेषकहरुले बजारमा २६१५ मा राम्रो सपोर्ट रहेको भन्दै विश्लेषण गरेका थिए । तर उनिहरुले विश्लेषण गरे अनुसार बजार २६१५ मा अडिन सकेन । यस पछि बजार अझै तल झर्ने हो कि भन्ने डरले ठुला लगानीकर्ताले शेयर बिक्री गरेर स्टप लस गरेका छन् । बजार अझै घट्छ भन्ने लाग्यो भने लगानीकर्ताहरुले स्टप लस गरेर हातमा पैसा लिन्छन् र अलि कति तल झरे पछि फेरि उठाउछन् । 

बढ्दो बजारमा प्रोफिट बुक गरिन्छ भने घट्दो बजारमा स्टप लस गरिन्छ । यहि रणनीतिले पनि पछिल्ला दिनमा बजारमा सेलिङ प्रेसर अधिक छ । बजार घट्नु पर्ने कुनै पनि ठोस कारण नभएको हुँदा जति सुकै वेला शेयर बजार बढ्न सक्ने विश्लेषकहरु बताउछन् । 

बजार तीन हजार भन्दा तल झरे पछि कतिपय लगानीकर्ताले राम्रै शेयर उठाएका छन् । उनिहरु पनि अहिले बजार देखेर चिन्तित हुन थालेका छन् । बजार झर्ने यथेष्ट कारण नहुँदा उनिहरु अचम्मित भएका हुन् । अर्को कुरा बजारमा एकै पटक एक हजार भन्दा धेरैको सुधार पनि भयो । यो सुधार पनि स्वभाविक थिएन । ब्रोकरले आक्रामक बजारको मौका छोप्दै कारोबार बढाउन लगानीकर्ताले मागे जति कोल्याट्रल हालिदिए जसले गर्दा बजारमा करेक्सन हुन पाएन । अहिले त्यसैको असर बजारमा देखिएको विश्लेषकहरु बताउछन् । अहिलेसम्ममा त्यो सबै पैसा सेटल भइसकेको हुँदा अव बजार आफ्नै गतिमा अगाडी बढ्ने उनिहरुको विश्लेषण छ । 

Related posts

Leave a Comment