International Technology 

एप्पललाई उछिन्दै साओमी बन्यो धेरै फोन बिक्री गर्ने दोस्रो कम्पनी

०३ असाेज, काठमाडाैं । सामसङले आईफोनको डिजाइन नक्कल गर्‍यो । यता आईफोन निर्माता एप्पलले सामसङको ग्यालेक्सी फिचर कपी गर्‍यो । एक-अर्काका उत्कृष्ट फिचर प्रयोग गर्ने यी दुई कम्पनी स्मार्टफोन बिक्री गर्ने सन्दर्भमा लामो समयसम्म पहिलो र दोस्रो भइरहे ।

तर, गएको अगस्ट महिनामा भने चिनियाँ स्मार्टफोन निर्माता साओमी सबैभन्दा बढी स्मार्टफोन बिक्री गर्ने कम्पनीमध्ये दोस्रो स्थानमा परेको छ ।

काउन्टरपोइन्ट रिसर्चले सार्वजनिक गरेको प्रतिवेदन अनुसार २०२१ पछि पहिलो पटक मासिक स्मार्टफोन बिक्रीमा साओमीले एप्पललाई पछि पारेर यो स्थान हासिल गरेको हो ।

पछिल्लो समय बजार आएको साओमीको फ्ल्यागशिप फोन साओमी १४ अल्ट्राले विश्वबजारमा राम्रो चर्चा पाइरहेको छ । यही फोनका कारण पहिले इन्ट्री र मिडरेन्ज फोन निर्माताको परिचय बनाएको साओमीले फ्ल्यागशिप फोनको रूपमा स्थापित गर्न लागिपरेको छ ।

साओमीका सहायक ब्रान्ड रेड्मी र पोकोप्रति बजारको आकर्षण बढेकाले पनि फोनको बिक्री बढेको बताइएको छ । यता आईफोनले हालै मात्र नयाँ सिरिज आईफोन १६ सार्वजनिक गरेको थियो । ग्राहकहरू नयाँ सिरिज पर्खिरहेकाले पनि आईफोन बिक्री नभएको बताइएको छ ।

किफायती मूल्यका साओमीका स्तरीय फोन भारतसहित दक्षिण एसिया, अफ्रिका र ल्याटिन अमेरिकामा बढी बिक्री हुने गर्छन् । प्रायः विकासोन्मुख देशमा पनि साओमीले ठूलो बजार हिस्सा ओगटेको छ । यता एप्पल र सामसङ विकसित राष्ट्रमा बढी बिक्री हुन्छ । पछिल्लो समय कम्पनीले ल्याएको फ्ल्यागशिप फोन सम्पन्न राष्ट्रहरूमा पनि बिक्री हुन थालेपछि कम्पनीले यो सफलता हासिल गरेको बताइएको छ ।

केही समयअघि साओमीले नयाँ अपरेटेटिङ सिस्टम हाइपर ओएसको सुरुवात गरेको थियो । यसमा कम्पनीले धेरै सुधार ल्याएको थियो ।

Related posts

Leave a Comment